नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अहिले पनि पहिचानकै पक्षमा रहेको बताएका छन्।
बुधबार पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्रीसमेत रहेका उनले कोशी प्रदेश नाम राख्दा गल्ती हुन पुगेको बताए।
'पूर्व १ नम्बर प्रदेशमा नामकरणको विषयमा हामी पहिचानको अडानमै छौँ', उनले बैठकमा ब्रिफिङ गर्दै भने, 'त्यो प्रदेशमा रहनु भएका साथीहरुबाट कोशी नाममा निर्णय गर्ने बेला अडान लिन सक्नु भएन।'
उनले अहिले पनि माओवादी पहिचानको मुद्दाबाट तलमाथि नहुने बताए। 'तर म तपाईंहरुलाई के विश्वस्त गराउन चाहन्छु भने हाम्रो पार्टी अहिले पनि पहिचानको मुद्दाबाट तलमाथि हुँदैन र हुने छैन', उनले त्यसक्रममा भने।
गत फागुन १७ गते प्रदेश १ को नाम कोशी प्रदेश जुराउँदा प्रस्तावक रामबहादुर रानाले राखेको प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत परेको थियो।
९३ सदस्यीय प्रदेश १ को प्रदेश सभामा मत विभाजनका क्रममा दुईतिहाइका लागि ६२ मत आवश्यक रहेकोमा प्रस्तावको पक्षमा सत्तारुढ दलहरू नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा तथा विपक्षमा नेकपा एकीकृत समाजवादीका चार सदस्यले मतदान गरेका थिए।
तर पहिचान पक्षधरहरुले किरातसहितका नाम अघि सारेर आन्दोलन चर्काइरहेका बेला प्रचण्डले बैठकमा यो ब्रिफिङ गरेका हुन्।
कोशीले पहिचान पक्षधहरुको भावनामा ठेस पुगेको भन्दै एक महिनादेखि लगातार आन्दोलन चलिरहेको छ।
माओवादीले जनयुद्धदेखि नै जातीय पहिचानसहितको पक्षमा आफूलाई उभ्याउँदै आएको थियो।
तर सातै प्रदेशको नाम भूगोल र नदीबाट राखिँदा माओवादीले आफूलाई पहिचानको अडानमा टिकाइरहन सकेन।
कोशीमा पनि माओवादीको समर्थनसहित दुईतिहाइ बहुमतले नाम जुरेको थियो।
Shares
प्रतिक्रिया