नेपाली कांग्रेसको संस्थापन इतर समूहले तीन मन्त्री र एक राज्यमन्त्री लिने भएको छ।
समूहको बैठकमा नेता डा. शेखर कोइरालाले मन्त्रिपरिषद्मा समूहका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री पठाउने तयारी रहेको ‘ब्रिफिङ’ गरेका छन्।
बैठकमा सहभागी केन्द्रीय सदस्यसमेत रहेका एक सांसदले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने गरी सभापति शेरबहादुर देउवासँग समझदारी बनेको ‘ब्रिफिङ’ भएको जानकारी दिए।
उनका अनुसार बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसेको इतर समूहको बैठकले मन्त्रिपरिषद्मा सहभागी हुने सांसदको बारेमा निर्णय गर्ने अधिकार समूहमा रहेका पदाधिकारीलाई जिम्मा दिइएको छ।
ती सांसदले बैठकमा महामन्त्री गगन थापा र नेता कोइरालाले मनित्रपरिषद् विस्तार, उपनिर्वाचन, भ्रातृ संगठन नेपाल शिक्षक संघको जारी निर्वाचनलगायतका विषयमा ‘ब्रिफिङ’ गरेका पनि बताए।
यसअघि इतर समूहले पार्टीको भागमा परेका ८ मन्त्रालयमध्ये ३ मन्त्रालय आफ्नो समूहले पाउनु पर्ने अडान राख्दै आएको थियो। तर, सभापति देउवा अनिच्छुक देखिएका थिए।
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थप एक मन्त्रालय कांग्रेसलाई दिन सहमत भएपछि देउवा पनि इतर समूहलाई तीन मन्त्रालय दिन तयार भएका एक नेताको भनाइ छ।
कांग्रेसबाट अहिले उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रवक्ता डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकासमन्त्री छन्।
उनीहरु चारै संस्थापन पक्षका हुन्। संस्थापन पक्षबाट केन्द्रीय सदस्यद्वय एनपी साउद र मोहनबहादुर बस्नेत मन्त्री बन्ने चर्चा छ।
जसमध्ये साउद परराष्ट्रमन्त्री बन्ने लगभग निश्चित छ।
‘एनपी साउद परराष्ट्र लगभग कन्फर्म जस्तै हो। धनराज गुरुङलाई स्वास्थ्य, डिगबहादुर लिम्बूलाई कानुन, मोहन बस्नेतलाई खेलकुद मन्त्रालय हुन सक्छ,’ इतर समूहका एक नेता भन्छन्।
सभापति देउवाले नेताहरु साउद र बस्नेतलाई पहिलो चरणमै चैत १७ गते सरकारमा पठाउने पार्टीले तयारी गरेका थिए।
तर, इतर समूहले तीन मन्त्रालय नपाउँदासम्म नाम नपठाउने अडान लिएपछि उनीको शपथ रोकिएको थियो।
इतर समूहबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरु बद्री पाण्डे र जीवन परियार, डिगबहादुर लिम्बू, सुरेन्द्रराज आचार्य मन्त्रीका आकांक्षी छन्।
यस्तै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा काठमाडौँ–५ बाट निर्वाचित सांसद प्रदीप पौडेललाई मन्त्री बनाउने ‘लबिङ’ मा छन्।
Shares
प्रतिक्रिया