ad ad

राजनीति


नारायणकाजीले कहिल्यै नगरेको दुई काम दशकको पहिलो दिन नै गर्नुपरेपछि...

नारायणकाजीले कहिल्यै नगरेको दुई काम दशकको पहिलो दिन नै गर्नुपरेपछि...

नेपालखबर
बैशाख १, २०८० शुक्रबार २०:०, काठमाडौँ

शुक्रबार विसं २०८० को पहिलो दिन मात्र थिएन, ’८० को दशकको पहिलो दिन पनि थियो। दशककै पहिलो दिन भएकाले धेरै नेपालीहरुले यो दिनलाई विशेष बनाउने प्रयास पक्कै गरे होलान्। 

गृहमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठका लागि पनि विसं ’८० को दशकको पहिलो दिन दुई कारणले महत्वपूर्ण दिन बन्न पुग्यो। 

६२ वर्षीय उपप्रधानमन्त्री श्रेष्ठले यो कुराको खुलासा प्रज्ञा प्रतिष्ठानमा शुक्रबार अपराह्न आयोजित एउटा कार्यक्रममा आफैँले गरे। 

उनले आफ्नो जीवनमा यसअघि आफ्नो हातबाट कहिल्यै पुस्तक लोकार्पण–विमोचन गरेका रहेनछन्। कुनै कार्यक्रममा निर्धारित समयमै पुग्नुपर्छ भन्ने चेतना आएयता शुक्रबार (१ वैशाख) बाहेक कहिल्यै ढिला गरी पुगेका पनि रहेनछन्।    

मकालु प्रकाशनद्वारा प्रकाशित तीन पुस्तक लोकार्पण कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार आफैँ यी कुराको खुलासा गरे। 
  

जब आफैँ कार्यक्रममा ढिला पुगे 
प्रज्ञा प्रतिष्ठानको पुस्तकालय हलमा आयोजना गरिएको पुस्तक लोकार्पण कार्यक्रम अपरान्ह चार बजे तय गरिएको थियो। तर, उपप्रधानमन्त्री श्रेष्ठको आगमनमा ढिलाइका कारण साढे चार बजे मात्र कार्यक्रम सुरु हुन सक्यो। 

कार्यक्रम सुरु भएको केही समयपछि नै आफूलाई हतार भएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो सम्बोधन कार्यक्रम अगाडि सारिदिन आयोजकहरुसँग अनुरोध गरे। 

उनको अनुरोध अनुसार लोकार्पित एउटा पुस्तकको नेपाल सरकारका पूर्व मुख्यसचिव एवं चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौडेलले समीक्षा प्रस्तुत गर्नुअघि नै श्रेष्ठलाई सम्बोधनका लागि समय प्रदान गरियो।   

‘म आफैँ ठीक समयमा कार्यक्रम सुरु गर्नुपर्छ भन्ने आन्दोलनमा छु। तर यहाँ आफँै ढिलो आएकाले यो कार्यक्रम ढिलो सुरु भयो,’ उनले भने, ‘यसका लागि म क्षमाप्रार्थी छु।’ 

उनका भनाइमा कार्यक्रम निर्धारित समयमा सुरु गर्नुपर्छ भन्ने मान्यता (आन्दोलन) अघि सारेपछि कुनै कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठ ढिलो पुगेको यो पहिलो घटना हो।  

यो कार्यक्रममा आउनुअघि उपप्रधानमन्त्री श्रेष्ठ राष्ट्रिय सभागृहमा आयोजित ‘धम्मावती गुरुमा’ को विशेष सामूहिक धम्मपूजामा प्रमुख अतिथिको रुपमा सहभागी थिए। 

काठमाडौँको नः घलस्थित धर्मकीर्ति बिहारकी गुरुमा धम्मावती बौद्ध धर्मकी ती शीर्ष व्यक्तित्व हुन्, जसले सन् १९७० को दशकमा किशोरवय नेपालमा बिताएकी बर्मा (म्यानमार) की लोकतान्त्रिक नेतृ आङ सान सुकीलाई बौद्ध धर्मसम्बन्धी शिक्षा दिएकी थिइन्। 

‘धम्मावती गुरुमाको धम्मपूजा कार्यक्रम ढिलोगरी सकियो, यस्तो कार्यक्रम नसकिउन्जेल बीचैमा छाडेर हिँड्न नहुने रहेछ,’ उनले स्पष्टीकरण दिए, ‘त्यो कार्यक्रम सकेर मात्र हिँड्नुपर्ने भएकाले यो कार्यक्रममा आइपुग्न ढिला भएको हो।’

ढिला आइपुगेका श्रेष्ठ कार्यक्रमको बीचैमा आफ्नो सम्बोधन सकेर कार्यक्रमबाट बिदा भएका थिए। यसप्रति उनले कार्यक्रमका सहभागीहरुसँग माफी मागे।

उनको भनाइमा राष्ट्रिय सभाको कार्यक्रमबाट निस्कँदा ढिलाइका कारण प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रम सम्पन्न नहुँदै छाडेर हिँड्नुपर्ने स्थिति सिर्जना भएको हो।

‘त्यहाँबाट निस्कँदा ढिलाइ भएकाले सेड्युल नै बिग्रन पुग्यो,’ उनले थपे, ‘त्यसैले कम्तीमा अर्काे ठाउँमा निर्धारित समयमा पुग्नका लागि पनि म यहाँबाट अलिक छिटो हिँड्नुपर्ने भयो।’ 

उनको थप भनाइ थियो, ‘कि कार्यक्रममा जानै हुँदैन, गएपछि समयमै पुग्नुपर्छ र अन्तिम समयसम्म बस्नुपर्छ। तर, मैले नै ढिला गरेँ। चाँडो पनि मैले नै हिँड्नुपर्ने भयो। यसका लागि पनि म तपाईंहरुसँग माफी माग्न चाहन्छु।’ 

पहिलो पटक तीन पुस्तक लोकार्पण 
पत्रकार चेतनाथ आचार्यद्वारा लिखित पुस्तक ‘नयाँ युगमा चीन’, वासुदेव ढकालले अनुवाद गरेको पुस्तक ‘चिनियाँ यात्री फाहियानको यात्रा विवरण’ र नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कूलपति गंगाप्रसाद उप्रेतीको कविता संग्रह ‘चक्रव्यूह’ को अंग्रेजी अनुवाद ‘एन अनपेनिट्रेबल फोर्टिफिकेसन’ उपप्रधानमन्त्री श्रेष्ठले लोकार्पण गरेका थिए। 

सम्बोधनको क्रममा आफूले यसअघि कहिल्यै पुस्तक लोकार्पण नगरेको जानकारी दिए। र, यसपटक पनि लोकार्पणका लागि आफूले इन्कार गरेको दाबी गरे।

‘यस्तो खालको कार्यक्रममा मलाई नबोलाइयोस् भनेर मैले अनुरोध गरेको थिएँ,’ उनले भने, ‘किनकि म पुस्तक लोकार्पणका लागि उपयुक्त पात्र थिइनँ।’  

उनले भने, ‘स्रोताका रुपमा थुपै पुस्तक लोकार्पण कार्यक्रममा मैले भाग लिएको छु, आफैँले लोकार्पण चाहिँ गरेको छैन। त्यस हिसाबले मेरो तर्फबाट पुस्तक लोकार्पण भएको यो पहिलो घटना हो।’

असम्बद्ध व्यक्तिहरुलाई पुस्तक लोकार्पण गर्न लगाइने प्रचलनको पनि उनले आलोचना गरे। 

‘नेताहरु देश बनाउन भन्दा उद्घाटन, विमोचन, लोकार्पण कार्यक्रममा समय खेर फालिरहेका छन् भनेर एकातिर आलोचना गरिन्छ,’ उनले थपे, ‘अर्काेतिर आलोचना गर्ने साथीहरु नै मेरो कार्यक्रममा चाहिँ आइदिनुपर्छ है भनेर अनुरोध गर्नुहुन्छ। यस्तै अप्ठेरोमा परेर यो लोकार्पण कार्यक्रममा उपस्थित भएको हुँ।’ 

झुट बोली कहिल्यै आफूलाई मन नपर्ने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले आफूद्वारा लोकार्पित तीन पुस्तकबारे पनि झुट नबोल्ने दाबी गरे।

‘झुट कुरा मलाई मन पर्दैन। जानाजान कसैले झुट बोलेको छ भने त त्यस्तोसँग म रिसाउँछु पनि,’ उनले भने, ‘आज लोकार्पित तीनवटै पुस्तकबारे केही बोल्न सक्ने मेरो अवस्था छैन। नढाँटिकन भन्नुपर्दा मैले यी कुनै पनि पुस्तक पढेकै छैन।’ 

कार्यक्रममा पूर्वमुख्यसचिव एवं चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौडेललाई पत्रकार आचार्यको पुस्तक ‘नयाँ युगमा चीन’ बारे बोल्ने जिम्मेवारी थियो। पुस्तकबारे पौडेलको समीक्षा सुन्ने इच्छा आफूलाई भए पनि लामो हुनसक्ने सम्भावनाका कारण आफूसँग समयाभाव रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए।

‘लीलामणिजीले पुस्तकबारे १० मिनेट बोल्छु भन्नु भएको छ, तर मलाई थाहा छ– विषयवस्तुको गहिराइका कारण उहाँले त्यो भन्दा धेरै लामो समय बोल्नु हुन्छ,’ उनले आफ्नो भनाइ टुङ्ग्याए, ‘पुस्तकबारे लीलामणिजीको गहन समीक्षा सुन्न नपाएकोमा पनि म क्षमा माग्न चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .