ad ad

राजनीति


इदको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– सरकार सामाजिक न्याय, सुशासन र समृद्धिका लागि दृढ छ

इदको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– सरकार सामाजिक न्याय, सुशासन र समृद्धिका लागि दृढ छ

फाइल तस्बिर


नेपालखबर
बैशाख ९, २०८० शनिबार ७:५३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (इदुल फित्र) का अवसरमा शुभकामना दिएका छन्। 

इदको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीहरूका साथै सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीघार्यु, समृद्धि एवं निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन्। 

इद इस्लाम समुदायको सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण पर्व भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसलाई आपसी सद्‌भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्त्वपूर्ण अवसरका रूपमा मनाउने गरिएको बताएका छन्। 

‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति इदलगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित छन्’, शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, ‘हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिकता र विशिष्ट महत्त्व हुने गर्दछ। मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका छन्। इद पनि यस्तो एउटा पर्व हो, जसले मुस्लिम समुदायको ऐतिहासिकता, पहिचान र संस्कृतिको प्रतिनिधित्व गर्दछ।’  

नेपाली जनताको लामो त्याग र बलिदानबाट निर्मित नयाँ संविधानले विविधतायुक्त नेपाली समाजको आत्मसातीकरणसहित सबै जाति, भाषा, धर्म, संस्कृति र पहिचानलाई समान संवैधानिक अधिकार प्रदान गरेको प्रधानमन्त्रीको भनाइ छ। 

यस क्रममा उनले संविधानमा व्यवस्था भएबमोजिमका अधिकार दृढतापूर्वक कार्यान्वयन गरी बलियो राष्ट्रिय एकतामार्फत राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई सुदृढ गर्नु राष्ट्रिय कार्यभार भएको पनि उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘वर्तमान सरकार संविधानप्रदत्त अधिकारहरूको व्यवस्थित कार्यान्वयनमार्फत सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ संकल्पित छ।’ 

अन्त्यमा प्रधानमन्त्री प्रचण्डले इद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .