ad ad

राजनीति


आज उपनिर्वाचन : बारा, चितवन र तनहुँमा मतदान हुँदै

आज उपनिर्वाचन : बारा, चितवन र तनहुँमा मतदान हुँदै

नेपालखबर
बैशाख १०, २०८० आइतबार ६:४०, काठमाडौँ

प्रतिनिधिसभातर्फ रिक्त रहेका तीन निर्वाचन क्षेत्रमा आज उपनिर्वाचन हुँदै छ। उपनिर्वाचनका लागि बिहान ७ बजेदेखि मतदान हुँदैछ। 

बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा उपनिर्वाचन हुन लागेको हो। 

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। बिहान ७ बजेदेखि बेलुका ५ बजे सम्म मतदान हुने आयोगले जनाएको छ। 

तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भयरहित र मर्यादित तरिकाले निर्वाचन सम्पन्न गराउन सुरक्षा प्रबन्ध मजबुद बनाइएको जानकारी दिए। 

निर्वाचनलाई भयरहित बनाउन मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।

पृथ्वीराजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द हुने भएको छ। 

मुग्लिन पुलबाट व्यास नगरपालिकाको चापाघाटसम्म, डुम्रे–बेँसीसहर सडकखण्ड, आँबुखैरेनी–गोरखा सडकखण्ड, दमौली–दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडकमा यातायात बन्द रहने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।

बारा–२ मा निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन भन्दै नेपाल–भारत ६५ किमि सीमानाका, जिल्लाभर प्रवेश गर्ने र बाहिरिने सम्पूर्ण नाका, मुख्य सडक, पूर्वपश्चिम राजमार्ग, सहायक राजमार्ग, पथलैया–वीरगन्ज सडकलगायतमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगन्ज राजमार्गमा द्रुतगति (लामो दूरी)का बाहेक अरू सवारीसाधन आइतबार बन्द गरिएको छ ।

चितवन–२ को मतगणना भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा गर्ने तयारी छ, त्यहाँ तारजालीको छेकबार र सीसीटीभी क्यामरा व्यवस्था गरिएको छ ।

गणना सुरु भएको तेस्रो दिनभित्रै अन्तिम नतिजा घोषणा गर्ने योजना रहेको निर्वाचन आयोगले जनाएको छ। 

दमकल, एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दूध बोक्ने सवारीसाधन, शववाहन, फोहरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेसपास भएको पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .