बारा क्षेत्र नम्बर २ बाट उपनिर्वाचन जितेपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मतदातालाई धन्यवाद दिन क्षेत्रमै छन्।
जनतम पार्टीका शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतले हराएका यादव काठमाडौं नआएर निर्वाचन क्षेत्रमै विजय सभामा व्यस्त भएका हुन्।
४ मंसिरको चुनावमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्राकान्त राउतसँग पराजित उपेन्द्र आफ्नै दलका संसदीय दलका नेतासमेत रहेका रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर क्षेत्र खाली गराई बारा २ मा उठेका थिए।
यादव ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएपछि बारा २ मा १० वैशाखमा उपचुनाव भएको हो। सत्ता गठबन्धनका संयुक्त उम्मेदवार यादवले अपेक्षाअनुसार भोट पाउँदै चुनाव जित्न सफल भए।
उनको संसद यात्रासँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा समेत सहभागी हुने चर्चा जसपाभित्र चलेको छ।
किनभने गठबन्धनभित्र जसपाले दुई मन्त्रालय पाउने समझदारी बनेको थियो। त्यसमध्ये अझै एउटामा मन्त्री पठाएको छैन। यसअघि नै अशोक राई शिक्षा मन्त्री बनेका छन्।
प्रधानमन्त्री प्रचण्डसँग अझै वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकूद, खानेपानी आपूर्ति र कानुन न्याय तथा संसदीय मामिला गरी ५ मन्त्रालय छन्।
यिनै बाँकी मन्त्रालयमध्ये एउटा कुनै लिएर जसपा अध्यक्ष उपेन्द्र आफैँ सरकारमा जानसक्ने जसपाका एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए।
उपेन्द्रले सरकारमा सहभागी हुने भनेर सार्वजनिक गरिसकेका छैनन्। तर, उनीनिकट नेताहरु भने उपेन्द्र नै मन्त्री बन्ने बलियो आधार देख्छन्।
‘अहिले बाँकी मन्त्रालयमध्ये स्वास्थ्य मन्त्रालय पाए अध्यक्षज्यू सरकारमा सहभागी हुन सक्ने सम्भावना छ,’ जसपाका ती पदाधिकारीले भने, ‘अरु पठाउँदा झन् समस्या हुनसक्छ, आकांक्षी धेरै भएकाले पनि पार्टीभित्र विवाद देखिन सक्छ।’
तर, मन्त्रीका लागि गठबन्धनबीच सहमति नजुटी नहुने उनको भनाइ छ।
उपेन्द्र यादव उपप्रधानमन्त्री भइसकेका छन्। उनी मन्त्री मात्र बनेर सरकारमा सहभागी हुँदैनन्।
अहिले नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कामात्र उपप्रधानमन्त्री छन्।
जसपा अध्यक्ष उपेन्द्रलाई उपप्रधान बनाइए त्यसले फेरि गठबन्धनमा विवाद बढ्ने खतराबारे प्रधानमन्त्री जानकार छन्।
गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी र दुई स्वतन्त्र सांसद छन्।
उपेन्द्र नबने को होलान्?
यदि कुनै कारण उपेन्द्र मन्त्री नबने को होलान त जसपाबाट मन्त्री?
नेताहरुका अनुसार डा. वीरेन्द्र महतो र राजकिशोर यादवमध्ये एकजना मन्त्री हुने सम्भावना छ।
डा. महतो प्रतिनिधि ४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा सिराहा २ बाट निर्वाचित भएका हुन्।
उनी उद्योगी उपेन्द्र महतोका भाइ हुन्।
उता राजकिशोर यादवको नाम यसअघि पनि मन्त्री बन्ने सूचीमा थियो । तर, जसपाले क्लस्टर मिलाएर संघीय परिषद् अध्यक्ष अशोक राईलाई मन्त्री बनाएको थियो ।
जसपामा प्रदीप यादव पनि मन्त्री बन्ने सूचीमा छन्। उनी यसअघि पनि मन्त्री भइसकेका छन्।
‘हाम्रो पार्टीबाट डा. वीरेन्द्र महतो र राजकिशोर यादवमध्ये एकजना मन्त्री बनाउने पार्टीले निर्णय गर्ने सम्भावना बढी छ,’ जसपाका अर्का एक पदाधिकारीले भने, ‘पहाडतिरका एकजना मन्त्री हुनुभयो अब मधेसकै मन्त्री हुनुहन्छ।’
जसपाले केही दिनभित्र पार्टीको बैठक बोलाउने पूर्ण बस्नेतले जानकारी दिए।
‘अध्यक्ष १/२ दिनभित्र काठमाडौं आएपछि पार्टीको बैठक बस्छ, अनि मन्त्रीमा कसलाई पठाउने निर्णय हुन्छ,’ बस्नेतले भने, ‘यसअघि पनि मन्त्री छान्ने जिम्मा अध्यक्षलाई दिइएको थियो ।’
जसपाको आगामी जेठ १, २ र ३ गते काठमाडौंमा विधान अधिवेशन हुँदैछ।
उक्त अधिवेशन भन्दा अघि नै सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी भएकोले केही दिनमै मन्त्रीको नाम दिने उनले दाबी गरे।
Shares
प्रतिक्रिया