ad ad

राजनीति


भैरहवा नपुग्दै सम्पर्कविहीन टोपबहादुर कहाँ गए?

भैरहवा नपुग्दै सम्पर्कविहीन टोपबहादुर कहाँ गए?

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०८० बिहिबार १४:३५, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा बुधबार पक्राउ पुर्जी जारी भएलगतै पूर्वउपप्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझीले अनुसन्धानमा सहयोग गर्ने बताएका थिए।

गृहजिल्ला अर्घाखाँचीमा पत्रकाहरुसँग बुधबार अपरान्ह कुरा गर्दै उनले यो प्रकरणमा आफू निर्दोष रहेको बताउँदै कानुनलाई सहयोग गर्न काठमाडौं जाने बताएका थिए। 

सभामुख देवराज घिमिरसँगै केही कार्यक्रममा भाग लिएका उनले भैरहवा विमानस्थलबाट अन्तिम फ्लाइटको टिकट पनि लिइसकेका थिए।

तर उनी फर्किने तयारी गर्दै गर्दा प्रहरीले छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गर्यो। छोरा सन्दीप पक्राउ परेपछि भने टोपबहादुर पनि एकाएक सम्पर्कविहीन भए। उनको मोबाइल फोन पनि बन्द भयो।

प्रहरी स्रोतका अनुसार बेलुकी ९ बजे बुटवलनजिकै मोबाइल लोकेशन देखिएको थियो। त्यसपछि रायमाझीको फोन खुलेको छैन। उनले आफ्नो सुरक्षार्थ सरकारले दिएको पीएसओ पनि लगेका छैनन्। 

मोबाइल अफ गरेपछि उनी कहाँ गए भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले रायमाझीलाई अहिलेसम्म पक्राउ गरिनसकेको बताए।

उनका छोरा सन्दीपलाई भने भैरहवाबाट बिहीबार बिहानै पहिलो उडानमार्फत काठमाडौं ल्याइएको छ। उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ।

रायमाझी अब जुनसुकै बेला पक्राउ पर्न सक्नेछन्।

उता प्रहरीको खोजी सूचीमा रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकले बिहीबारै विज्ञप्ति निकालेर अनुसन्धानमा सहयोग गर्ने बताएका छन्।

उनलाई पनि प्रहरीले प्रक्राउ प्रयास गरिरहेको छ। तर बिहीबार दिउँसोसम्म फेला पार्न सकेको छैन।

गृहमन्त्री बादलकै पूर्वसुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज पनि फरार छन्। यसअघि इन्द्रजित र नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .