नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टीका केन्द्रीय सदस्य एवं आफ्ना पूर्वअध्यक्ष बालकृष्ण खाँणबारे आधारहीन र भ्रमपूर्ण समाचार प्रकाशन भइरहेको भन्दै त्यसो नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
नक्कली शरणार्थी बनाई नेपालीलाई अमेरिका पठाउने भन्दै लाखौँ ठगी गरेको प्रकरणमा तत्कालीन गृहमन्त्री खाँणको नाम पनि जोडिएर समाचार सम्प्रेषण हुन थालेपछि नेपाल तरुण दलले गम्भीर ध्यानाकर्षण जनाएको हो।
यसअघि स्वयं खाँणले पनि विज्ञप्ति जारी गरी आफू त्यो प्रकरणमा संलग्न नभएको दाबी गर्दै सञ्चारमाध्यमलाई आफ्नाबारे ‘आधारहीन’ समाचार नलेख्न अनुरोध गरेका थिए।
तरुण दलले जारी गरेको विज्ञप्तिमा भने कुनै प्रकरण उल्लेख नगरी भनिएको छ, ‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य, नेपाल तरुण दलका पूर्वअध्यक्ष, नेपाल सरकारको निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणज्यूको बारेमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथ्यहीन र भ्रामक समाचारप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ।’
उक्त प्रकरण अनुसन्धानका लागि आफ्नातर्फबाट सरकार र प्रहरीलाई सक्दो सहयोग गर्न तयार रहेको पनि तरुण दलले उल्लेख गरेको छ।
‘समाजमा भ्रम एवं अन्योल उत्पन्न हुने र व्यक्तिको चरित्र हत्या हुने खालको समाचारहरू सम्प्रेषण नगरिदिनुहुन सम्पूर्ण सञ्चारमाध्यमहरूलाई नेपाल तरुण दल केन्द्रीय समिति हार्दिक अनुरोध गर्दछ’, उसले भनेको छ, ‘साथै आफ्नो तह र क्षेत्रबाट नेपाल सरकार र नेपाल प्रहरीलाई निष्पक्ष अनुसन्धानको लागि सक्दो सहयोग गर्न नेपाल तरुण दल सदैव तयार छ।’
Shares
प्रतिक्रिया