नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले भ्रष्टाचारको छानबिन गर्ने हो भने सबै नेताको सम्पत्ति सार्वजनिक गरिनुपर्ने बताएकी छन्।
आइतबार बसेको संसद बैठकमा आफ्ना भनाइ राख्ने क्रममा उनले भ्रष्टाचारका कुरा गम्भीर हुनुपर्ने बताइन्।
‘भ्रष्टाचारको कुरामा हामी कति सिरियस छौँ? म संसदमा नभएको दिनमा मेरो नाम यहाँ भ्रष्टाचारमा जोडियो’, उनले भनिन्, ‘एउटा नारीले आफ्नो हैसियतमा राजनीतिक गरेको नहुने रहेछ। नारीले आफ्नो बलमा गरेको प्रगति पुरुषले नसहने रहेछन्। पुरुषले भनेको कुरा मात्रै मान्नु पर्ने रहेछ।’
उनले महिलाहरु आफ्नो बलमा पब्लिक लाइफमा आउँदा पुरुष सह्य नहुने गरेको गुनासो गरिन्।
‘महिला आफ्नो बलमा पब्लिक लाइफमा आयो भने पुरुषलाई सह्य नहुने रहेछ,’ उनले भनिन्, ‘मैले केही बिराएको छैन, डराउँदिनँ।’
उनले आफ्ना पति शेरबहादुर देउवा ५/६ पटक प्रधानमन्त्री भइसकेको बताउँदै सम्पत्ति विवरण सार्वजनिक गर्न तयार रहेको उल्लेख गरिन्।
‘मेरा पति पाँच/छ पटक प्रधानमन्त्री भइसक्नु भएको छ। हाम्रो सम्पत्ति नेपाल सरकारसँग सुरक्षित छ’, उनले भनिन्, ‘सबैको सम्पत्ति विवरण सार्वजनिक रुपमा प्रकाशित होस्। सबैको सम्पत्ति खोजौँ।’
उनले भारतका न्यायालयका कर्मचारीले हरेक महिना सम्पत्ति देखाउने नियम रहेको सुनाइन्।
‘भारतमा हरेक महिना न्यायालयका कर्मचारीले आफैं देखाउनु पर्छ’, उनले भनिन्, ‘यहाँ त कुरा ठूला गर्ने तर मौका पाउँदा होच्याउने रहेछन्। हामी हाम्रो सम्पत्ति सार्वजनिक गर्न तयार छौँ।’
Shares
प्रतिक्रिया