नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका कामहरूलाई ‘खिसिट्युरी’ नगर्न समेत चेतावनी दिएका छन्।
‘टोपबहादुर रायमाझीलाई ल्याएर कानुनको दायरामा बुझाउनुस्, त्यसैमा तपाईंहरुको कल्याण छ,’ उनले भने, ‘विषयलाइ विषयान्तर गर्ने, खिसिट्युरी गर्ने र छापामार शैलीमा सदन कब्जा गर्ने तपाईंहरुको शैलीले राजनीतिक चरित्र प्रस्तुत गरेन।’
साथै, उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले छापामार शैलीमा आफ्ना कुराहरु राखेको भन्दै विषयान्तर नगर्न समेत आग्रह गरे।
‘प्रमुख प्रतिपक्षका साथिहरूले छापामार शैलीमा आफ्ना कुराहरु राख्नुभयो त्यसका लागि धन्यवाद। प्रमुख प्रतिपक्ष साँच्चै भ्रष्टाचारीलाई कारबाही गर्न चाहने हो भने विषयान्तर नगर्नुस्,,’ सांसद सापकोटाले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले गर्नुभएको कामहरुलाई जे खिसिट्युरी गरिराख्नुभएको छ, तपाईंहरुलाई नै त्यसले नाङ्गो बनाइराखेको छ।’
Shares
प्रतिक्रिया