राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले लोक सेवा आयोगको डाटा हराएको घटनाका जिम्मेवार व्यक्तिलाई कारबाही गर्न माग गरेकी छन्।
लोक सेवा आयोगमा दरखास्त दिएका झन्डै ४ लाख आवेदकको डाटा हराएपछि आयोगले पुनः आवेदन आह्वान गरेको छ।
जारी प्रतिनिधिसभाको बैठकमा सांसद डाँगीले विश्वमा प्रविधिले फड्को मरिरहँदा हाम्रो सरकारले भने चार लाख आवेदकको डाटा पनि सुरक्षित राख्न नसकेको भनी आलोचना गरिन्।
उनले भनिन्, ‘लोक सेवा आयोगजस्तो जिम्मेवार निकायले डाटा सुरक्षित नराख्नु, डाटा रिकभर गर्न नसक्नु र आन्तिममा आएर पुनः फारम भर्न लगाउने, कति सम्मको लापरबाही हो यो!’
नेपालका अधिकांश युवा विदेशीरहेका बेला स्वदेशमै भविष्य खोज्ने नागरिकलाई पनि सरकारले प्रोत्साहन गर्नुको साटो निरुत्साहन गरिरहेको आरोप पनि उनले लगाइन्।
‘यसरी युवाहरूको भविष्यसँग खेलबाड नगरियोस्’, उनले भनिन्, ‘डाटा रिकभर हुँदैन भने जिम्मेवार निकायमा बसेकालाई कारबाही गरियोस्।’
यस्तै सांसद डाँगीले सभामुखमार्फत पटकपटक लोकसेवा आयोगले लिने परीक्षाको मिति सरिरहने समस्याको अन्त्य गर्न पनि सम्बन्धित निकायसँग माग गरिन्।
Shares
प्रतिक्रिया