ad ad

राजनीति


नागरिकता विधेयक पारित गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मसालको आपत्ति

नागरिकता विधेयक पारित गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मसालको आपत्ति

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १४:५६, काठमाडौँ

नेकपा (मसाल) ले नागरिकता विधेयक छिट्टै पारित गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

शुक्रबार मसाल महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।

बिहीबार प्रतिनिधि सभामा सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री दाहालले नागरिकत विधेयक एक महिनाभित्र टुंगोमा पुर्याउने बताएका थिए।

यस्तै, मसालले टीकापुर हत्याकाण्डमा दोषी ठहर रेशम चौधरीलाई छिट्टै रिहा गर्ने प्रधानमन्त्रीको भनाई पनि आपत्तिजनक रहेको बताएको छ।

‘संसदमा जेष्ठ ०४ गते प्रश्नोत्तरको कार्यक्रमका सिलसिलामा प्रधानमन्त्रीले दिएको जवाफहरू मध्ये दुईटा विषयहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ’ मसालले भनेको छ, ‘प्रथम, उहाँले संसदमा पहिले पारित भएको नागरिकता संशोधन विधेयकलाई छिट्टै पारित गर्ने कुरा बताउनु भएको छ। द्वितीय, सर्वोच्च अदालतले ज्यान सम्बन्धी मुद्दामा जन्मकैदको सजाय दिएका रेशम चौधरीलाई छिट्टै जेलबाट मुक्त गर्ने कुराको सङ्केत दिनुभएको छ। उक्त दुवै कुरालाई हामीले गलत मान्दछौँ र तिनीहरूबारे उहाँले प्रकट गरेको विचारलाई कडा शब्दमा विरोध गर्दछौँ।’

यस्तै, पहिले संसदद्वारा पारित भएको विधेयकबाट भारतीयहरूलाई नेपालको नागरिक बन्नको लागि मार्ग प्रशस्त गर्ने मसालको ठहर छ। त्यसबाट नेपालको राष्ट्रियतामा गम्भीर आँच पुग्ने विज्ञप्तिमा उल्लेख छ।

संसदले बहुमतबाट पारित गरेको नागरिकता संशोधन विधेयक तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएकी थिइन्। सो विधेयकलाई जस्ताको तस्तै संसदले पुनः प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएपछि अहिले त्यो विधेयक थन्किएर बसेको छ।

‘संसदमा त्यो विधेयक प्रस्तुत हुँदा राष्ट्रिय जनमोर्चाले त्यसका विरुद्ध मतदान गरेको थियो’ महामन्त्री सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहिले पनि हाम्रो त्यो अडान कायम छ र हामीले कडा शब्दमा त्यसको विरोध गर्दछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .