राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले नेपाली भूमीबाट चीनविरुद्ध युद्ध गर्न अमेरिका नेपाल प्रवेश गरेको बताएकी छन्।
सोमबार दाङको तुलसीपुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पूर्वसांसद पौडेलले प्रतिद्वन्द्वी चीन विरुद्ध अमेरिकी साम्राज्यवाद नेपालमा आएको दाबी गरिन्।
पौडेलले चीन अमेरिकी साम्राज्यवादको मुख्य प्रतिद्वन्दी भएको बताइन्।
‘सबैलाई थाहै छ नि, अमेरिकाको मुख्य प्रतिद्वन्द्वी चीन हो भन्ने कुरा’ उनले भनिन्, ‘चीनको विरुद्धमा नेपाली भूमिमा टेकेर युद्ध गर्न अमेरिकी साम्राज्यवाद नेपालमा आजभोलि बढी सक्रिय भएको हो।’
उनले अमेरिका पहिला भारतमार्फत नेपाल आउने गरेकोमा अहिले प्रत्यक्ष हस्तक्षेपमा उत्रिएको बताइन्।
‘पहिला पहिला नेपालमा भारतीय साम्राज्यवादले माइक्रो म्यानेजमेन्ट गर्दथ्यो । त्यो क्रम अहिले पनि यथावत् नै छ’ उनले भनिन् ‘अब अमेरिकी साम्राज्यवाद पनि प्रत्यक्ष रूपमा नै माइक्रो म्यानेजमेन्ट गर्ने गरी आएको छ। उसको यो भूमिका विगतको भन्दा बढी हस्तक्षेपकारी छ।’
पौडेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकन डिजाइनअनुसार बनेको दाबी दोहोर्याइन्।
फरक प्रशंगमा उनले संघीयता खारेज गर्नुपर्नेमा जोड दिइन्। गणतन्त्र र धर्म निरपेक्षताको रक्षा मुख्य विषय भएको पौडेलले बताइन्।
विरोध सभालाई सम्बोधन गर्दै नेकपा (मसाल) का लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसीले अहिलेको सही राजनीतिक विकल्प राष्ट्रिय जनमोर्चा भएको बताइन्।
राष्ट्रिय जनमोर्चाले जेठ १ गतेदेखि कञ्चनपुर र बागलुङबाट ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची महाकाली अभियान’ सञ्चालन गरिरहेको छ। महासचिव मनोज भट्टको नेतृत्वमा कञ्चनपुरबाट अघि बढेको टोली दाङ पुगेको हो।
दुवै टोलीले जेठ १५ गते बुटवल र काठमाडौंमा अभियानको समापन गर्नेछन्।
Shares
प्रतिक्रिया