नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएको केही महिनामै आफू बिरामी परेको बताएका छन्।
राससले गणतन्त्र दिवसको सन्दर्भमा उनीसँग लिएको अन्तर्वार्तामा आफ्नो स्वास्थ्यबारे बताउँदै उनले राष्ट्रपतिको कार्यकाल सकिएपछि आफू बिरामी परेको र शल्यक्रिया गरी लामो नियमित उपचारमा रहनुपरेको बताएका छन्।
'वास्तविक रूपमा भन्नुपर्दा राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएपछि बिरामी परेँ। शल्यक्रिया गर्न पर्यो, लामो नियमित उपचारमा रहनु पर्यो। केही वर्ष त्यसैमा बित्यो,' उनले भने, 'अहिले पेटको रोग छ, समयमा खाने, सुत्ने, ढाड र गोडाको व्यायाम गर्नेजस्ता नियमित गर्नुपर्छ। शरीरले काम गर्न दिइरहेको छैन।'
बिहान उठेर ५ बजेदेखि हिँड्ने, शारीरिक व्यायाम गर्ने, खाना र औषधि खान्छु अनि समाजका विभिन्न क्षेत्रका मानिससँग भेटघाट गर्ने आफ्नो अहिलेको दैनिकी रहेको उनको भनाइ छ। समय मिलेसम्म किताब पनि पढिरहेको उनले बताएका छन्।
मुलुकको प्रतिष्ठित चिकित्सक समेत रहेकाले सरकारी अस्पतालमा गएर स्वास्थ्य सेवामार्फत् सेवा दिने विषयमा सोधिएको प्रश्नमा उनले अब अस्पतालमा नफर्किने बताएका छन्। आफ्नो इच्छा रहेको तर शरीरले काम गर्न नदिइरहेको उनको भनाइ छ। उनले भने, 'शरीरले काम गर्न दिइरहेको छैन, इच्छा भएर पनि यो अवस्थामा मैले बिरामीलाई न्याय गर्न सक्दिनँ।'
अहिले स्वास्थ्य सेवामा फर्किए त्यो देखावटी मात्रै हुने बताउँदै उनले आफ्नो स्वास्थ्य ठीक रहेको बेला १२ घण्टासम्म नियमित काम गरेको जनाएका छन्।
Shares
प्रतिक्रिया