प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनको समर्थनमा संसद्मा उभिएका दलहरूले लोकतान्त्रिक मूल्य मान्यता ध्वस्त पारेको बताएका छन्।
बुधबार बिहान माओवादी निकट प्रेस सेन्टरका इन्चार्ज महेश्वर दाहालको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न गएको टिमसँग उनले यस्तो बताएका हुन्।
पछिल्लो ६ महिनामा सरकारले सुरुदेखि जनतालाई प्रत्यक्ष सेवा दिने, विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्ने, बेथिति रोक्नेदेखि हालै भएको भारत भ्रमणमा विभिन्न पहल गरेको दाबी गरे। यस क्रममा एउटा ट्रेल बनेको उनले बताए। यी सबै प्रयास निकै अप्ठ्यारो अवस्थामा गरेको बताउँदै उनले त्यसलाई जनतासम्म बुझाउन नसकिएको बताए।
उनले निकै ठूलो अप्ठ्यारो र घेराबन्दीबीच काम गरे पनि सदनमा आफू एक्लो भएको बताए।
'जतिबेलै वन मेन आर्मी जस्तो हुनुपरेको छ, अरुले सकेसम्म भाँड्ने प्रयास गरेको देखिन्छ,' उनले भने, 'ओलीहरू देख्नुभयो नि! लोकतन्त्रको मूल्य मान्यता ध्वस्त पारेर– म मञ्चमा बोलिराखेको छु, हरेक कुराको जवाफ दिन्छु भनिराखेको छु, बोल्नै नदिने भनेर तलका मान्छेलाई बोल्न दिने कुरा भयो सभामुखबाट। हुँदै नहुने कुरो थियो नि!'
आफूले बोलिसकेपछि प्रक्रियागत रूपमा विरोध र प्रतिवाद गर्ने कुरा हुने भए पनि बोल्दाबोल्दै आफूलाई अपमानित गरिएको उनले बताए।
'पछि उनीहरू नै एक्सपोज भए, सांस्कृतिक मान्यता, नैतिकता केही रहेनछ भन्ने छ्याङ्गै देखियो,' उनले भने, 'सबै कुरा भन्दै गर्दा पनि संसद्मा अपमानित हुनुपर्यो। सबै कुरा भन्दै गर्दा लास्टसम्म पुग्दा हालत खराब भयो।'
प्रधानमन्त्रीले बोलेपछि तुरुन्तै प्रतिपक्षले बोल्न उनीहरूले नै हुन्न भन्ने गरेकोमा अहिले मिल्दै नमिल्ने कुरा जबर्जस्ती गरेको उनले बताए।
Shares
प्रतिक्रिया