ad ad

राजनीति


सूत्रधार बाबुराम नै किन अटाएनन् समाजवादी मोर्चामा?

सूत्रधार बाबुराम नै किन अटाएनन् समाजवादी मोर्चामा?

फाइल तस्बिर


नेपालखबर
असार ४, २०८० सोमबार १७:५५, काठमाडौँ

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट बहिर्गमनमा परेपछि प्रगतिशील र वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याएर समाजवादी मोर्चा बनाउनुपर्ने पक्षमा लागेका थिए पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उनले  मोर्चाको अवधारणाबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरुलाई कन्भिन्स गराएका थिए।

त्यसपछि भट्टराईले कम्युनिष्ट विचार र सिद्धान्त मान्ने दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि मोर्चा निर्माणको रणनीतिबारे प्रष्ट पारे।

उनले जोसँग कुरा गरे, सबै मोर्चामा रहन तयार भए। भट्टराई, माधव नेपाल र प्रचण्डबीच कम्तीमा १० पटक यसकै विषयमा छलफल भएको थियो।

यसमा माओवादी पूर्वघटकबीच एकता नै गर्ने रणनीति थियो। निरन्तर छलफलपछि असारभित्रै समाजवादी मोर्चा बनाउने विषयमा लगभग समझदारी जुटेको थियो।

तर, असार ४ गते नै समाजवादी मोर्चा घोषणा त भयो, बाबुराम भट्टराई नेतृत्वको नेसपा मोर्चामा अटाउन सकेन। आजकै दिन भट्टराईको जन्मदिन पनि हो। यही दिन नयाँ मोर्चा बनेको सार्वजनिक हुँदा मञ्चमा नेसपा देखिएन्।

राष्ट्रिय सभागृहमा भएको विशेष कार्यक्रमबाट मोर्चा घोषणा गर्दा माओवादी, एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) समेटिएका छन्।

समाजवादी मोर्चा निर्माणका आरम्भकर्ता दाबी गर्नै भट्टराई त्यसमा परेका छैनन्। कतिपयले उपेन्द्र र बाबुरामको टकरावको कारण भन्ने विश्लेषण गरेका छन्।

तर, भट्टराई आफैँले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्। मोर्चा घोषणाअघि उनले एउटा विश्लेषण लेख्दै समाजवादी मोर्चाको उपादयताबारे चर्चा गरेका छन्। 

सोमबार भएको कार्यक्रममा पनि जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले पहिलो चरणमा ४ दल समेटिएर बनेको समाजवादी मोर्चा घोषणा भएको र बाँकी दललाई पनि समेट्ने बताए।

‘जुन पार्टीबीच सहमति भयो त्यो घोषणा गरिएको हो, थप पार्टीलाई मोर्चामा समेट्न सल्लाह गर्छौँ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘४ दलको घोषणापछि अन्य दललाई सामेल गर्नैबारे छलफल हुन्छ।’

अघिल्लो वर्षको असार २९ सम्म बाबुराम जसपाकै संघीय परिषद् अध्यक्ष थिए। तर, उपेन्द्र यादवसँग मतभेद बढेपछि भट्टराईले आफ्नै नेतृत्वमा नेसपा गठन गरेका हुन्। 

असार ३० मा जसपाको पर्साको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईसहित ९ नेतालाई कारबाही गरेको थियो।

त्यसपछि भट्टराईले असार ३१ मा नेसपा गठन गर्ने घोषणा गरेका थिए। नेसपा गठन गरेपछि उनी माओवादीसहित पूर्व माओवादी घटकसँग एकता गर्नेगरी खटिएका थिए।

विचार मिल्नेसँग मोर्चा बनाउन खोज्ने उनले रणनीति भविष्यमा एकता नै गर्नेगरी थियो। 

तर, मोर्चा घोषणा त भयो, जहाँ बाबुराम छुटेका छन्। उनी मोर्चामा सामेल हुने नहुने टुंगो छैन। राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम गरेर समाजवादी मोर्चा घोषणा भइरहँदा यसका एकजना सूत्रधार भने छुटेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .