ad ad

राजनीति


प्रचण्डका तीन डर, जसका कारण समाजवादी मोर्चामा अटाएनन् बाबुराम

प्रचण्डका तीन डर, जसका कारण समाजवादी मोर्चामा अटाएनन् बाबुराम

नेपालखबर
असार ५, २०८० मंगलबार २०:५३, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले २ असारमा बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरे। भेटवार्ताको विषय थियो– आफूलाई ‘समाजवादी धारा’ का दाबी गर्ने पार्टीहरुबीच मोर्चा गठन गरेर अघि बढ्ने प्रयास। 

माओवादी केन्द्र र नेसपाबीच आम निर्वाचन–०७९ पछि पार्टी एकता गर्ने आन्तरिक समझदारी थियो। तर पछिल्लो समय प्रचण्ड पार्टी एकता त परै जाओस्, डा. भट्टराईलाई ‘समाजवादी मोर्चा’ मा समेत सहभागी गराउने पक्षमा छैनन् भन्ने हल्ला चलिरहेका बेला दुई नेताबीच त्यसदिन भेटवार्ता भएको थियो। 

प्रचण्डसँगको भेटलगत्तै भट्टराईले सामाजिक सञ्जालमा ‘समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षबीच छलफल गर्दै अघि बढ्ने समझदारी भएको’ उल्लेख गरेका थिए। र, ‘बाहिर चलेका हल्लामा नबग्न’ आग्रह पनि गरेका थिए।  

तर, सोमबार (४ असार) मा घोषणा गरिएको ‘समाजवादी मोर्चा, नेपाल’ मा डा. भट्टराई नेतृत्वको नेसपा सहभागी भएन। आफ्नो दललाई सहभागी नगराइएपछि डा. भट्टराई पनि घोषणा सभामा देखिएनन्। जबकि समाजवादी धाराका पार्टीहरुको मोर्चा गठनको प्रस्तावकमध्येका नेता डा. भट्टराई पनि थिए। 

समाजवादी मोर्चामा डा. भट्टराईको अनुपस्थितिको कारक धेरैले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँगको खटपटलाई मानेका छन्। यो कुरामा सत्यता पनि छ। किनकि जसपाबाट अलग भएर डा. भट्टराईले नेसपा गठन गरेका थिए। विभाजित दल भएकाले दुईबीच तुस हुने त भइहाल्यो।   

तर, अर्काे कारण डा. भट्टराईसँग प्रचण्ड र प्रचण्डसँग डा. भट्टराई तर्सनु पनि हो। प्रचण्डले डा. भट्टराईविरुद्ध मुख त खोलेका छैनन्। डा. भट्टराईले भने मोर्चा घोषणापछि प्रचण्डबारे आफ्नो आलोचना फेसबुक पेजमा ‘सेयर’ गरेर प्रचण्डसँगको असन्तुष्टि प्रकट गरे।

मंगलबार साँझ उनले आफ्नो विचार मार्न खोजिएको आरोप नै लगाए।

‘पहिलो, नयॉ शक्ति स्थापना हुँदा निर्वाचन चिह्न नै नदिनु, दोश्रो, अरूलाई २० प्रतिशत मात्र केन्द्रीय सदस्य र सांसद भए पनि पार्टीको मान्यता दिलाउनु तर हामीसँग ४० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य र सांसद हुँदा ऐन नै मुर्छा पारेर पार्टीको मान्यता नदिनु। तेश्रो, दुई वर्ष अघिदेखि समाजवादी केन्द्र/मोर्चाको अवधारणा ल्याउने हामीलाई जानकारीसम्म नदिई मोर्चा घोषणा गर्नु!’ भट्टराईले लेखेका छन्, ‘के यो सबै आकस्मिकता हो? कृष्णलाई देवकीकै गर्भमा हुँदादेखि सिध्याउन खोज्दा कृष्ण सिद्धिए? विचार कसैले मार्न खोज्दैमा मर्छ र?’

प्रचण्डका तीन डर
पार्टीको अलग अस्तित्व भए पनि डा. भट्टराई नेतृत्वको नेसपाले आम निर्वाचन–०७९ मा प्रतिस्पर्धाका लागि माओवादी केन्द्रको चुनाव चिन्ह प्रयोग गरेको थियो। माओवादीको चुनाव चिन्हबाट गोर्खा र सिन्धुलीमा प्रदेश सभाका १–१ र सर्लाही–२ बाट प्रतिनिधि सभामा महेन्द्र राय यादव गरी नेसपाका तीन नेता निर्वाचित भए।  

प्रचण्डका निम्ति आफू विजयी हुँदै आएको गोर्खा–२ समेत छाडिदिएका थिए डा. भट्टराईले। चुनावपछि पार्टी एकता गर्ने र प्रचण्डले संगठन एवं सम्भव भए सत्ताको जिम्मेवारी लिने, डा. भट्टराईले विचारधारात्मक पक्षको जिम्मेवारी लिने आन्तरिक समझदारी बमोजिम प्रचण्डका लागि डा. भट्टराईले गोर्खा–२ छाडिदिएका थिए।  

फरक वैचारिक पृष्ठभूमि भए पनि २०७४ को निर्वाचनको ६ महिनापछि ३ जेठ ०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता सम्भव भयो। तर, वर्षाैं माओवादी जनयुद्धको मोर्चामा सँगै भएका प्रचण्ड र डा. भट्टराई नेतृत्वको दलबीच चुनाव सम्पन्न भएको सात महिना बितिसक्दा पनि एकता हुन सकेको छैन। 

यी दुई दलबीच एकता हुन नसक्नुको एउटा कारण प्रचण्ड डा. भट्टराईसँग विश्वस्त हुन नसक्नु हो। निकटस्थहरुसँगको कुराकानीमा प्रचण्डले भन्ने गरेका छन्– ‘डा. भट्टराईले एकतापछि वैचारिक काममा केन्द्रित हुन्छु भने पनि व्यवहारमा त्यो देखिएको छैन।’ 

स्रोतका अनुसार, प्रचण्ड तीन कारणले डा. भट्टराई नेतृत्वको नेसपासँग एकता गर्न अनिच्छुक बन्दै गएका छन्। 

पहिलो कारण पार्टीको नाम परिवर्तन सम्बन्धमा डा. भट्टराईले राखेको सर्त हो। माओवादीबाट २०७२ असोजमा अलग भएदेखि नै डा. भट्टराईले ‘कम्युनिस्ट’ जोडिएको पार्टी नामप्रति असहमति व्यक्त गर्दै आएका छन्। पार्टीको नाम कम्युनिस्ट राख्नु हुँदैन भन्ने कुरामा उनले अहिले पनि जोड दिइरहेका छन्। 

प्रचण्ड भने पार्टीको नाम कम्युनिस्ट नराख्ने हो भने माओवादीप्रति समेत सहानुभूतिशील ठूलो पंक्ति एमालेतिर जाने कुराले भयभीत छन्। पार्टीको नाममा कुनै हिसाबले ‘समाजवादी’ पनि राख्ने, तर पार्टीको मूल नाम भने ‘नेकपा’ राख्ने अडानमा प्रचण्ड छँदैछन्। 

प्रचण्डको डरको दोस्रो कारण डा. भट्टराईसँगको एकतापछि पार्टीभित्र आफूविरुद्ध निर्माण हुनसक्ने ध्रुवीकरण हो। अहिले प्रचण्ड पार्टीमा सर्वशक्तिमान छन्। उनलाई चुनौती दिनसक्ने समानान्तर हैसियतको नेता माओवादीमा छैन। यहीकारण माओवादीभित्र प्रचण्डप्रति असन्तुष्टहरुको असहमति सार्वजनिक रुपमा प्रकट भएको छैन। 

तर, पार्टी एकतापछि यो स्थिति नरहन सक्छ। प्रचण्डप्रति असन्तुष्टहरु डा. भट्टराईको नेतृत्वमा आफूविरुद्ध गोलबन्द हुने भय प्रचण्डलाई छ।

तेस्रो, अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबले पनि डा. भट्टराई आफूभन्दा सबल स्थितिमा रहेको प्रचण्ड ठान्छन्। एक त, पार्टीको नाम गैरकम्युनिस्ट खालको राख्दा विचारका दृष्टिले डा. भट्टराई हाबी हुन्छन्। गैरकम्युनिस्ट नामका कारण अन्तर्राष्ट्रिय सम्बन्धमा पनि उनकै बर्चस्व रहन पुग्छ। 

त्यही कारण पछिल्लो समय डा. भट्टराई नेतृत्वको नेसपासँग एकता गर्न प्रचण्ड हच्किएका छन्। 

‘समाजवादी मोर्चा’ बाट पनि अलग
नेसपासँग एकता गर्न हच्किएपछि प्रचण्डप्रतिको डा. भट्टराईको आक्रोश ‘समाजवादी मोर्चा’ घोषणासँगै प्रकट हुन पुगेको छ। उनले प्रत्यक्ष आक्रोश पनि व्यक्त गरेका छन्।

प्रचण्ड भारत भ्रमणबाट फर्केदेखि नै डा. भट्टराईले प्रचण्डप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन्। भारत भ्रमणबाट फर्केको अर्काे हप्ता प्रचण्ड मन्त्रीहरुको समूहका साथ २७ जेठमा पशुपतिनाथ मन्दिर पुगेका थिए। मन्त्रीहरुको दलबलका साथ पशुपति मन्दिर पुगेकोमा पनि डा. भट्टराईले प्रधानमन्त्री प्रचण्डको आलोचना गरेका थिए। 

प्रधानमन्त्री मन्त्रीहरुको दलबलसहित मन्दिर पुग्दा राज्यको धर्मनिरपेक्ष नीतिप्रति प्रश्न उत्पन्न भएको विचार डा. भट्टराईले प्रकट गरेका थिए।  

माओवादी केन्द्र र डा. भट्टराई नेतृत्वको नेसपाबीच एकताको प्रयास भएको थिएन भने यी आलोचनालाई स्वाभाविक मान्न सकिन्थ्यो। तर, चुनावपूर्वको समझदारीविपरीत एकताबाट टाढिन खोजेको र आफूलाई खतराको रुपमा प्रस्तुत गर्न थालेको अनुभूत गरेपछि नै डा. भट्टराईले प्रचण्डप्रति यस्तो आक्रोश पोख्न थालेका हुन्। 

एकातिर वैचारिक–राजनीतिक बर्चस्वका लागि डा. भट्टराईले पार्टीको नाम परिवर्तन गर्न खोजेका हुन् भन्ने प्रचण्डलाई लाग्छ। किनकि एकतापछि नयाँ पार्टीको नामबाट कम्युनिस्ट नाम हटाउनासाथ डा. भट्टराईले राजनीतिक रुपमा आफ्नो जित भएको दाबी गर्न सक्छन्। 

त्यसपछि ‘जसको नीति, उसको नेतृत्व’ को नारा लाग्न सक्छ। यो कारण पनि प्रचण्डले नाम यथावत (कम्युनिस्ट) राख्न चाहेका हुनसक्छन्। 

पार्टीको नाम कम्युनिस्ट नै राख्ने हो भने राजनीतिक रुपमा आफ्नो पराजय हुने भट्टराईले ठानेका हुनसक्छन्।   

किनकि, कम्युनिस्ट पार्टीको औचित्य समाप्त भएको घोषणाका साथ डा. भट्टराई २०७२ असोजमा माओवादीबाट अलग भएका थिए। त्यसयता उनले निरन्तर कम्युनिस्ट नाम र कम्युनिस्ट पार्टीको औचित्यमाथि प्रश्न गरिरहेका छन्। यस्तो स्थितिमा फेरि एकताको नाममा कम्युनिस्ट (पार्टी) नाम लाई स्वीकार गर्दा उनी प्रचण्डकै राजनीतिक लाइनमा फर्केको प्रमाणित हुन्छ। 

माओवादीमा छँदापनि प्रचण्डलाई ‘प्राविधिक’ नेता र आफूलाई ‘वैचारिक’ नेता ठान्ने भट्टराई राजनीतिक जीवनको उत्तरार्धमा प्रचण्डलाई ‘वैचारिक नेता’ सावित हुन दिने पक्षमा छैनन् सायद। 

स्रोतका भनाइमा, पछिल्लो समय डा. भट्टराईलाई के अनुभूति हुन थालेको छ भने गत निर्वाचनमा विजयका लागि प्रचण्डले आफूलाई प्रयोग गरेका रहेछन् र पार्टी एकताको प्रस्ताव त्यत्तिका लागि मात्र रहेछ। 

‘समाजवादी मोर्चा’ मा सहभागी नगराइएपछि उनलाई यो कुराको अनुभूति अझ गहिरोगरी भएको छ। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नरुचाउने भएकाले डा. भट्टराई नेतृत्वको नेसपालाई मोर्चामा सहभागी नराइएको चर्चा राजनीतिक वृत्तमा छ। 

निश्चय नै, मोर्चामा डा. भट्टराईको उपस्थिति उपेन्द्र यादवले नचाहेका हुनसक्छन्। किनकि, नेसपाभित्र लामो कचपचपछि त्यहाँबाट अलग भएर डा. भट्टराईले अघिल्लो वर्ष नेसपा स्थापना गरेका थिए। 

तर, प्रचण्डले चाहेको र अडान लिएको भए यादवको अवरोधले मात्रै डा. भट्टराईको समाजवादी मोर्चामा सहभागिता रोकिने थिएन। यो कुराको पुष्टि मन्त्रिपरिषदको बनोटबाट पनि  हुन्छ।

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा डा. भट्टराई नेतृत्वको नेसपाको सहभागिता पक्कै रुचाएको छैन। तरपनि प्रचण्डले नेसपा नेता महेन्द्र यादवलाई आफ्नो मन्त्रिपरिषदको सदस्य बनाएका छन्। 

नेसपा नेता यादवलाई प्रचण्डले मन्त्री बनाउन सक्छन् भने समाजवादी मोर्चामा डा. भट्टराईलाई ल्याउन नसक्ने हुन्छ र? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .