ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड जब संसद्‍मा पटक पटक झुक्किए

प्रधानमन्त्री प्रचण्ड जब संसद्‍मा पटक पटक झुक्किए

संसद् बैठकमा प्रधानमन्त्री प्रचण्ड। तस्बिर : सभामुखको सचिवालय


नेपालखबर
असार ८, २०८० शुक्रबार १२:२९, काठमाडौँ

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखेका थिए।

हरेक महिना चलाउने गरी अघि बढाइएको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शुक्रबार संसद्‍मा पुगेका थिए।

प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि सभामुखले चार दिनअघि नै सांसदहरुसँग लिखित प्रश्न मागेका थिए।

पहिले नै प्रश्न लिइसकेकाले प्रधानमन्त्रीले शुक्रबार पूर्वतयारीसहित सांसदहरुको प्रश्नको जवाफ दिन संसद्‍मा उपस्थित हुनुपर्ने थियो। 

तर शुक्रबार संसद्मा फरक दृश्य देखियो। प्रधानमन्त्रीले आफूलाई प्रश्न गर्ने सांसदहरुलाई चिन्न नै सकेनन्। सांसदहरु चिन्न नसकेपछि उनलाई सभामुख देवराज घिमिरेले सघाएका थिए। 

पूर्वनिर्धारित कार्यक्रम भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको लापरबाही कारण संसद्‍मा अप्ठेरो दृश्य देखिएको हो। 

शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई प्रश्नका लागि सभामुख घिमिरेले नेपाली कांग्रेसकी सांसद अञ्जनी श्रेष्ठको नाम लिए। आफ्नो पालो आएपछि उनले प्रधानमन्त्रीलाई प्रश्न सोधिन्। 

त्यसअघि प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेका अच्युत मैनाली र नेपाली कांग्रेसका अजय चौरसियाले प्रश्न गरेका थिए। 

त्यक्रममा प्रधानमन्त्री अलमलिन पुगे। उनले आफूलाई प्रश्न गर्ने सांसदको नाम नै चिन्न नसकेपछि सभामुख घिमिरेले सघाए। प्रधानमन्त्रीलाई रोकेर सभामुख घिमिरेले सांसद अञ्जनी श्रेष्ठको नाम लिएर सघाइ दिए। त्यसपछि बल्ल प्रधानमन्त्रीले श्रेष्ठको प्रश्नको जवाफ दिए। 

यो दृश्य फेरि दोहोरियो। उनले आफूलाई प्रश्न सोध्ने पूर्वमन्त्री एवम् नेपाली कांग्रेसकी सांसद अम्बिका बस्नेतलाई पनि चिनेनन्। बस्नेतलाई पनि नचिनेपछि प्रधानमन्त्री प्रचण्डलाई सभामुखले सघाएर सहज बनाइदिए। 

तर अझै अलमल देखियो। सभामुख घिमिरेले प्रश्न सोध्ने सांसद अम्बिका बस्नेत भएको बताउँदा पनि प्रधानमन्त्रीमा अलमल देखियो। 

प्रधानमन्त्रीले सांसद बस्नेतको लिखित प्रश्न नै हराएको बताउँदै फेरि सोध्न रोस्ट्रमबाट आग्रह गरे। त्यहीक्रममा उनले आफूले राम्रो तयारी गर्न नसक्दा यस्तो भएको उल्लेख गरे। 

प्रश्नोत्तरको अन्तिममा सांसद अशोककुमार चौधरीले प्रधानमन्त्रीमाथि कटाक्ष गरे। उनले आफ्नो नाम अशोककुमार चौधरी रहेको बताउँदै नझुक्किनका लागि नोट गरेर राख्न भने। 

उनले आफ्नो नाममा नझुक्किन आग्रह गर्दै भारतसँग जोडिएको सीमा नियमन कहिले र कसरी हुन्छ भनेर प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .