ad ad

राजनीति


रास्वपा पनि माओवादी, कांग्रेसजस्तै हुने भयो भनेर चिन्ता लिनुपर्दैन : लामिछाने

बेइमानीलाई रास्वपाको ढोका बन्द भएको प्रष्टोक्ति
रास्वपा पनि माओवादी, कांग्रेसजस्तै हुने भयो भनेर चिन्ता लिनुपर्दैन : लामिछाने

नेपालखबर
असार १७, २०८० आइतबार १८:२९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेइमानीलाई पार्टीमा राख्न नसक्ने बताएका छन्।

आइतबार गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले पार्टी प्रवेश गर्नेहरू धेरै भएपनि आफूले अबिर, फूलमाला लगाएर प्रवेश नगराएको बताए।

उनले भने, ‘यो पार्टीमा सहभागी हुन सबैलाई ढोका खुला छ तर इमान बोकेर आउने साथीहरुलाई मात्रै खुला हो, बेइमानी छातीमा बोकेर आउनेका लागि यो ढोका खुला छैन।’

उनले केही स्वार्थीहरू पार्टी प्रवेशका लागि चिहाउँदै गरेको भन्दै इमान नभएकाहरुलाई पार्टीमा स्थान नरहेको बताए।

‘केही स्वार्थ भएका साथीहरु चिहाउँदै हुनुहुन्छ, त्यो नदेखेको होइन, पार्टीले देखेको छ, तर चिन्ता गर्नुपर्दैन। पार्टी अर्काको कब्जामा मात्रै पर्ने भयो, हिजोको माओवादी, कांग्रेस एमाले जस्तै हुनेभयो भन्ने चिन्ता लिनुपर्दैन’, उनले भने।

उनले स्वार्थका लागि पार्टी प्रवेश गर्न लागेकाहरुलाई पार्टीले नियालिरहेको पनि बताए।

‘म छलफलमा बसेको बेला मलाई सबैले भन्थे, कहाँ सकिन्छ र? ठूला पार्टीको त यत्रो ठूलो सञ्जाल छ, कार्यकर्ता नै लाखौँ छन्, त्यत्रा भोटर छन्, भ्रातृ संगठन नै संगठन छन्, गर्भैदेखि फलानो पार्टी भन्ने छन्, तपाई आफूले चाहीँ जित्नुहोला कुन्नि तर काठमाडौंमा उठ्नुभएको थियो, तर पनि प्रयास त गर्नुहोला भन्थे,’ सभापति लामिछानेले भने, ‘तर मैले देश दौडाहामा जाँदा नागरिकको नाडी छाम्ने अवसर पाएको थिएँ।’

सभापति लामिछानेले पार्टीमा स्वार्थहरु प्रवेश गरेर पार्टी कब्जा हुने हो की भन्ने चिन्ता नलिन शुभेच्छुकहरुलाई आग्रह गरे।

‘यो पार्टी एक वर्षमा नेपालको सबैभन्दा महत्वपूर्ण, चासोको पार्टी बनेको छ। हाम्रो पार्टीमा निरन्तर विभिन्न पार्टीबाट प्रवेश गर्ने क्रम चलेको छ।हामीले लाइन लगाएर टिका लगाउँदै प्रवेश नगराएको मात्रै हो, त्यो गरेको भए झनै धेरै देखिन्थ्यो,’ उनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .