ad ad

राजनीति


धरानका मेयर हर्क साम्पाङलाई भेटेपछि एलिजाले छाडिन् नागरिक उन्मुक्ति

धरानका मेयर हर्क साम्पाङलाई भेटेपछि एलिजाले छाडिन् नागरिक उन्मुक्ति

नेपालखबर
असार २१, २०८० बिहिबार १२:२१, काठमाडौँ

कलाकारसमेत रहेकी एलिजा गौतमले पाँच महिनामै नागरिक उन्मुक्ति पार्टी छाडेकी छन्। 

गत माघ १४ गते बुटवलमा उनी एक कार्यक्रमबीच नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्।

तर उनी उक्त पार्टीमा लामो समय टिक्न सकिनन्। नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले पार्टी प्रवेश गराएकी गौतम पाँच महिनामै स्वतन्त्र हुने निर्णयमा पुगिन्। 

उनले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङलाई भेटेपछि राजनीति त्यागेको घोषणा गरेकी हुन्। धरानका मेयर साम्पाङ स्वतन्त्रबाट विजयी भएका हुन्। 

‘समाजसेवा निरन्तर, सक्रिय राजनीतिबाट बिदा! धरान उपमहानगरका मेयर हर्कराज राई (साम्पाङ) को कामबाट प्रभावित छु। उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ। उहाँप्रति सधैं उच्च सम्मान छ। देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ’, उनले भनिन्।  

उनले आफूले बिहीबार मेयर साम्पाङको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको बताएकी छन्। 

‘म निकै खुशी छु। सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ। श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल प्रदान गरेकी छु। यहाँहरुले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु’, उनले भनेकी छन्।  

उनले दलहरुको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्क साम्पाङको काम हेर्न पनि भनेकी छन्। 

‘यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ। मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन्’, उनले भनेकी छन्, ‘अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु।’

गौतम नागरिक उन्मुक्तिमा प्रवेश गरेपछि टीकापुर हत्याकान्डका दोषी रेशम चौधरीको पक्षमा बोलेर भाइरल भएकी थिइन्। उनले रेशमलाई नछाडे आगो बल्ने भनेपछि सामाजिक सञ्जालमा भाइरल भएकी थिइन्।

त्यस्तै केही समयअघि उनी कैलाली पुगेर रेशमसँगै मुसाको मासु पनि खाएकी थिइन्। पत्रकार ऋषि धमलाकी पत्नी उनले केही फिल्म पनि खेलेकी छन्। तर सफल हुन सकेकी छैनन्।

ऋषि आफैं कांग्रेसनिकट मानिन्छन्। त्यहीबेलै एलिजाको नागरिक उन्मुक्ति यात्रालाई धेरैले अनौठो मानेका थिए। 

त्यसबेला उनले नागरिक उन्मुक्तिको उद्देश्य एकदमै राम्रो लागेकाले आफू प्रवेश गरेको बताएकी थिइन्।

सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन पनि नागरिक उन्मुक्तिमा आवद्ध हुन पुगेको पनि बताएकी थिइन्। तर उनको यो यात्रा ५ महिनामै सकिएको छ। 

गौतमले नागरिक उन्मुक्ति पार्टीले बच्चा, युवादेखि वृद्धसम्मको हितमा काम गरिरहेको भन्दै प्रशंसा समेत गरेकी थिइन्। तर अहिले उनी धरानका मेयरको प्रशंसा गर्दै स्वतन्त्र हुने निर्णयमा पुगेकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .