ad ad

राजनीति


सत्ता गठबन्धनको निष्कर्ष : प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको व्यवहार असंसदीय

सत्ता गठबन्धनको निष्कर्ष : प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको व्यवहार असंसदीय

सत्तारुढ गठबन्धनको बैठक। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
असार २१, २०८० बिहिबार १३:०, काठमाडौँ

सत्तारुढ गठबन्धनले संसदीय मूल्य र मान्यताविपरीत गएर संसद् अवरोध गर्ने र प्रधानमन्त्रीको राजीनामा माग्ने प्रमुख प्रतिपक्षलगायतका प्रतिपक्षी दलको व्यवहार गैरराजनीतिक र असंसदीय रहेको ठहर गरेको छ।

सामाजिक कुरीतिका बिरुद्ध रहेको मिटर ब्याजबाट आहात भएका नागरिकलाई राहत दिन सरकारले ल्याएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ असफल बनाई प्रतिपक्षले पीडितको विरुद्ध उभिएको निष्कर्षसमेत बैठकले गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले प्रमुख प्रतिपक्ष नेकपा (एमाले) लगायतले बुधबार सदनमा देखाएको व्यवहार असंसदीय रहेको निष्कर्ष निकालेको छ। 

बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसद्मा ‘फेस’ गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। 

‘प्रधानमन्त्रीले कुनै सन्दर्भमा बोलेको केही विषयमा कोही कसैलाई आपत्ति भए संसद्मा आवाज उठाउन पाइन्छ’, उनले भने, ‘तर, उहाँहरु (प्रतिपक्षी) ले जे गर्नुभयो त्यो निर्णय असंसदीय छ।’

यस्तै बैठकले कोशी प्रदेशको मुख्यमन्त्री पदमा बिहीबार साँझ ५ बजेसम्म नेपाली कांग्रेसका नेता उद्धव थापालाई प्रस्ताव गने निर्णय गरेको छ। 

यसअघि नै गठबन्धनले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको सन्दर्भमा नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईलाई बोलाएर तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ।

यसैगरी मिटरब्याजका सम्बन्धमा पनि आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउने सहमति भएको नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले बताए। 

‘बुधबार एमालेलगायतका अवरोधका कारण पीडित जनतालाई राहत दिने अध्यादेश पारित हुन सकेन’, उनले भने, ‘अनावश्यक विषय उचालेर सदन अवरोध गरियो। त्यसलाई पनि शीघ्र अगाडि बढाउने र आवश्यक प्रक्रिया मिलाउने सहमति आजको बैठकमा भएको छ।’

प्रमुख प्रतिपक्षलगायतका दलले के कति दिन सदन अवरोध गर्ने र किन गर्ने भन्ने विषयमा नेपाली जनतालाई पनि स्पष्ट जवाफ दिनुपर्ने एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेको भनाइ छ। प्रतिपक्षीलगायतका दल जनताको शोषण गर्ने मिटरब्याजीको पक्षमा उभिएको स्पष्टै देखिएको उनले बताए। 

माओवादी केन्द्रका मुख्य सचेतक पाण्डेले प्रधानमन्त्रीको कुरा नै नसुनी एकोहोरो राजीनामा माग्नु गलत भएको बताए। 

‘प्रधानमन्त्रीले राजीनामा दिने कल्पना पनि गर्न सकिँदैन। प्रधानमन्त्रीले सदनमा आफ्ना कुरा राख्नुहुन्छ’, उनले भने।

मिटरब्याज पीडितलाई न्याय दिनका लागि सरकार लागिपरेको तथा सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार दृढताका साथ अगाडि बढ्ने निर्णय आजको बैठकले गरेको पाण्डेले बताए। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .