प्रमुख सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक ११ महिनापछि बस्दै छ।
मंगलबारदेखि बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकरी बैठकले १० वटा एजेन्डा तय गरेको हो।
महामन्त्री विश्वप्रकाश शर्माले पदाधिकारी बैठकपछि बोल्दै विभिन्न प्रतिवेदन पेस गर्नेसहित केन्द्रीय कार्यसमितिका लागि १० वटा एजेन्डा तय गरिएको बताए।
उनले केन्द्रीय कार्यसमिति बैठकमा लाइभ गर्ने विषयमा पनि कुरा भएको बताए। ‘कांग्रेस हरेक कुरामा पारदर्शिता हुनुपर्छ भन्ने कुरामा विश्वास गर्छ’, उनले भने, ‘हामी सकेसम्म भोलिकै बैठक प्रत्यक्ष प्रसारण गर्ने तयारीमा छौँ। यदि भएन भने पनि भित्रको कुनै कुरा लुकाउँदैनौँ।’
यसअघि २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगबारसम्मलाई धकेलिएको थियो।
एकजना पदाधिकारीका अनुसार करिब एक वर्षपछि बस्न लागेको बैठकका लागि १० वटा एजेन्डा तय गरिएको हो।
यस्ता छन् १० एजेन्डा
१. समसामयिक विषय (आर्थिक, परराष्ट्र)
२. सांगठनिक कार्ययोजना र कार्यतालिका
३. केस बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव
४. निर्वाचन परिचालन समितिको प्रतिवेदन
५. नीति अधिवेशन सम्बन्धमा
६. विभागहरु गठन, थप र कामको व्यख्या
७. राष्ट्रव्यापी अभियानको घोषणा
८. अनुशासन समितिको प्रतिवेदन पेश
९. संसद्मा सम्पादन भएका कामजहरुको प्रतिवेदन
१०. सरकारको गतिविधिबारे जानकारी
तर यो बैठकमा एकजना नेता बालकृष्ण खाँणबारे के गर्ने भन्ने टुंगो गरिएको छैन। नक्कली शरणार्थी प्रकरणमा खाँण जेल गएपछि उनलाई निलम्बन गर्ने नगर्नेमा कांग्रेस अझै अनिर्णित छ।
यसअघि महामन्त्री गगन थापासहितले खाँणलाई गम्भीर फौजदारी अभियोग लागेकाले निलम्बन गर्नुपर्ने माग गरेका थिए। तर सभापति देउवानिकट खाँण निलम्बनको विषयले यो कार्यसमिति बैठकमा प्रवेश पाउने कुराको अझै टुंगो लागेको छैन।
यो बैठकमा संस्थापन इतर समूहले खाँण प्रकरण उठाउने तयारी गरेको बताइएको छ।
Shares
प्रतिक्रिया