नेपाली कांग्रेसका उप सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको सहमतिमै समाजवादी मोर्चा बनेको खुलाएका छन्।
पार्टीको जारी केन्द्रीय समितिको बैठकमा उनले पार्टी सभापति शेरबहादुर देउवाको जानकारीमै समाजवादी मोर्चा बनेको खुलाएका हुन्।
‘हामी भ्रममा बस्नुहुन्न। एमालेसहितको गठबन्धनको विकल्पमा कांग्रेसहितको गठबन्धन बनाउन भएको छलफलमै समाजवादी मोर्चाबारे छलफल भएको थियो,’ खड्काले भने।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेत्र विक्रम चन्द विप्लवबिच बनेको मोर्चाबारे कांग्रेस जानकार रहेको उनले बताए।
‘प्रचण्डजीले समाजवादी मोर्चाबारे देउवाजीलाई जानकारी छ भनेको सत्य हो। गठबन्धनका दलहरूबिच विश्वासको वातावरण बनाउन त्यही बेलामै यसबारे छलफल भएको थियो,’ खड्काले भने।
उनले पुस १० गते माओवादीसहितको गठबन्धन कसरी टुट्यो र कसरी लयमा ल्याएर फेरि बनाएको प्रसङ्ग बताउँदै समाजवादी मोर्चाबारे जानकारी दिइएको बताए।
६ दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफका क्रममा उनले अहिले पर्खने र हेर्ने पनि बताए।
Shares
प्रतिक्रिया