पूर्वमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँगको आफ्नो पुरानो तस्बिरका आधारमा आफूविरुद्ध गरिएको प्रचारप्रति गम्भीर आपत्ति जनाएका छन्।
सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा माओवादी उपमहासचिव पुन र नेतृसमेत रहेकी उनकी पत्नी ओनसरी घर्तीसँग रहेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
यसैका आधारमा कतिपयले सुन तस्करी आरोप लागेका दावा र आफूबीच ‘सम्बन्ध’ देखाउने प्रयास गरेपछि पुनले सामाजिक सञ्जालमार्फत वास्तविकता जानकारी गराउँदै खण्डन गरेका हुन्।
नेता पुनका अनुसार दावासँगको त्यो तस्बिर ८ वर्षअघि जनयुद्धका सहिदको परिवार, रोल्पाकी चेली, पार्टी कार्यकर्ता अमला रोकासँग पारिवारिक भेटघाटका सन्दर्भमा खिचिएको थियो। जुन तस्बिरलाई अहिले आफूसँग जोडेर कुप्रचार गर्न खोजिएको उनको भनाइ छ।
‘जनयुद्धका सहिद परिवार, रोल्पाकी चेली, पार्टी कार्यकर्ता अमला रोकासँग पारिवारिक भेटघाटको सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भइसकेको तस्बिरलाई अहिले मसँग जोडेर गरिएको प्रचारप्रति मेरो गम्भीर आपत्ति छ’, माओवादी उपमहासचिव पुनले लेखेका छन्, ‘सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न गरिएको यस्ता गलत प्रचारको खण्डन गर्दै सुन तस्करीको निष्पक्ष छानबिनको म पूर्ण रूपमा समर्थन गर्दछु। राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको यस्तो गलत प्रचारको भ्रममा नपर्न म सबैसँग हार्दिक आग्रह गर्दछु।’
Shares
प्रतिक्रिया