नयाँ प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ।
मंगलबार बसेको बैठकमा सहमति नजुटेपछि बिहीबार फेरि संवैधानिक परिषद्को बैठक अहिले साँझ साढे ५ बजे बसेको हो।
आजको बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए।
संवैधानिक परिषद्का एक सदस्यका अनुसार मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय समितिका सभापति चयनको विषय उठाएपछि प्रधानन्यायाधीश सिफारिस हुन पाएको थिएन।
अब बिहीबारको बैठकबाट प्रधानन्यायाधीश सिफारिस हुने अपेक्षा गरिएको छ।
छोटो समयका लागि नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ।
अघिल्लो प्रधानन्यायाधीशको पदावधि सकिन एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि ढिला भइरहेको छ।
अब विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी छ। वरीयताक्रममा अगाडि रहेका उनले हरिकृष्ण कार्कीलाई प्रतिस्थापन गर्नेछन्।
Shares
प्रतिक्रिया