ad ad

राजनीति


प्रदेश १ मा जारी पहिचानवादी आन्दोलनमा जनमत पार्टीको सहभागिता

प्रदेश १ मा जारी पहिचानवादी आन्दोलनमा जनमत पार्टीको सहभागिता

फाइल फोटो


नेपालखबर
साउन २४, २०८० बुधबार १८:०, काठमाडौँ

प्रदेश नम्बर १ मा पहिचान पक्षधरहरुले गरिरहेको आन्दोलनमा जनमत पार्टीले सहभागिता जनाएको छ। प्रदेशको नाम कोशी प्रदेश राखिएको विरोधमा पहिचान पक्षधर संघ–संस्थाहरुले आन्दोलन गर्दै आएको छ।

अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आन्दोलनरत संघ–संस्थाहरुले झापाको दमकमा आयोजना गरेको सभालाई जनमत पार्टीका अध्यक्ष डा।सीके राउतले सम्बोधन गर्दै पहिचान पक्षधरको आन्दोलनमा आफ्नो पार्टीको सक्रिय सहभागिता रहने बताए।

आफू जोगी भएर तीर्थ यात्रामा निस्किदा समेत पहिचान खोजिएको अनुभव सुनाउँदै डा. राउतले भने,‘पहिचान जहाँ पनि चाहिन्छ। पहिचानका लागि आदिवासी–जनजाति वा थरुहट मै भएका आन्दोलनहरु सफल हुन सकेन। किनभने त्यहाँ संगठित रुपमा आन्दोलन भएन। प्रदेश नम्बर १ मा पहिचान पक्षधरहरुले गरिरहेको आन्दोलनमा जनमत पार्टीका सहभागिता रहनेछ।’

कार्यक्रममा आन्दोलनकारीहरुले जनमत पार्टीको झण्डासमेत प्रयोग गरेका थिए। कार्यक्रममा प्रयोग भएको झण्डाका विषयमा अध्यक्ष राउतले भने,‘आन्दोलनलाई लामो समयसम्म टिकाउन बलियो संगठन आवश्यक पर्छ। अब यो आन्दोलनमा हाम्रो संगठनको बल थपिएको छ। आन्दोलनलाई सफल बनाउन पहिचान पक्षधरहरुले जनमत पार्टीको झण्डामुनी आएर लामो संघर्षको बाटो तय गर्नुपर्छ।’

यसैबीच, जनमत पार्टीले काठमाडौंको माइतीघर मण्डलामा पनि एक कार्यक्रम गरी अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा एक्यवद्धता जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सचिव बीपी साहले पहिचान पक्षधरको आन्दोलनमा जनमत पार्टीको पूर्ण सहभागिता रहने बताए।

कार्यक्रममा साहले भने,‘१ नम्बर प्रदेशमा पहिचान पक्षधरहरुले गरिरहेको आन्दोलनमा हाम्रो एक्यबद्धता छ। पहिचानको आधारमा प्रदेशको नामाकंन हुनु पर्छ। उक्त आन्दोलन आदिवासी जनजातिहरुको भएकोले त्यसमा हामी पनि सहभागी भएका छौं।’

जनमत पार्टीको मुख्य एजेण्डाहरु मध्ये आईएलओ १६९ पनि रहेको जिकिर गर्दै नेता साहले भने,‘जल, जंगल र जमिनमाथि पहिलो अधिकार आदिवासी जनजातिकै हुनु पर्छ भन्ने मान्यता जनमत पार्टीको हो। आदिवासीको पनि पिँधमा रहेको सन्थाल जातिबाट सोनु र्मुमुलाई प्रतिनिधि सभामा पठाएर जनमत पार्टीले पहिचानवादीहरुलाई बलियो बनाउन लागि परेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .