ad ad

राजनीति


हाङ्जाओमै दुई पटक हुनेछ प्रचण्ड–सी भेटवार्ता

हाङ्जाओमै दुई पटक हुनेछ प्रचण्ड–सी भेटवार्ता

फाइल तस्बिर


नेपालखबर
असोज ४, २०८० बिहिबार १२:३४, काठमाडौँ

आसन्न चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच दुईपटक भेटवार्ता हुने भएको छ।

तर यो भेटवार्ता बेइजिङमा नभएर एसियाली खेलकुद प्रतियोगिता आयोजना गरिएको सहर हाङ्जाओमा हुन लागेको हो। प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट हङकङ ट्रान्जिट हुँदै शनिबार बिहान १० बजे हाङ्जाओ उत्रने छन्। 

हाङ्जाओमा शनिबार चीनका राष्ट्रपति सीसँग प्रचण्डको लन्च बैठक राखिएको छ भने दिउँसो दुई नेताबीच औपचारिक भेटवार्ताको कार्यक्रम रहेको छ। 

चिनियाँ सहर हाङ्जाओमा आयोजित १९औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको यही असोज ६ गते हुने उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कबाट सीधै चीन पुग्दै छन्। हाल प्रधानमन्त्री प्रचण्ड अमेरिका भ्रमणमा छन्।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री प्रचण्डको भेट हाङ्जाओमा मात्र हुनेछ।   

त्यसपछि प्रचण्ड चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने छन्। बेइजिङमा उनले चिनियाँ समकक्षी ली छिन, राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्डको यसपटकको चीन भ्रमण अपेक्षाकृत छोटो हुने ठानिएको थियो। तर भ्रमण एक हप्ता लामो हुने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ।   

मन्त्रालयका अनुसार प्रचण्डले बेइजिङका अलावा चोङकिङ सहर र तिब्बतको ल्हासा पनि भ्रमण गर्नेछन्। चोङकिङ महानगरले  कृषि र उद्योगको क्षेत्रमा गरेको विकास र प्रगतिको उनले अवलोकन गर्नेछन्। 

१३ असोजमा उनी ल्हासाबाट काठमाडौँ आइपुग्नेछन्।    

प्रधानमन्त्रीको भ्रमण दलमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ रहनेछन्। 

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण चिनियाँ समकक्षी ली छिनको निमन्त्रणामा हुन लागेको हो।

   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .