ad ad

राजनीति


युवा पुस्ता यसरी नै विदेशिए २० वर्षमा देश रित्तिन्छ : केसी

युवा पुस्ता यसरी नै विदेशिए २० वर्षमा देश रित्तिन्छ : केसी

फाइल फोटो


नेपालखबर
असोज १८, २०८० बिहिबार १९:१, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाहरुलाई विदेश पलायन गराएर सुनियोजित किसिमले मुलुक रित्याउन लागिएको बताएका छन्।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले नेपालका श्रमिक र विद्यार्थीहरु विदेश पलायन भइरहेका भन्दै त्यसलाई रोक्नुपर्ने बताएका हुन्। उनले नेपालमा रोजगारी दिन नसके युवाहरु विदेशिए भनेर गोहीको आँशु चुहाउनुको अर्थ पनि नभएको बताए।

उनले भने, ‘हामी सबैले यहाँ गोहीका आँशु बगाउँछौ । नेपालमा विद्यार्थीहरु, श्रमिकहरु सारा विदेशतिर गए। अनि यहाँ गोहीको आँशु चुहाउनुको औचित्य के होला? म दंगदास पर्छु। नेपालमा उद्योगधन्दा, कलकारखाना छैनन्। खानी फ्याक्ट्री छैनन् उहीले हामीले बेचिसक्यौँ। लिलाम गरिसक्यौँ। त्यस्तो गर्ने हामी यहीँ छौँ। तैपनि हामीले गोहीको आँशु चुहाउन छोड्दैनौँ।’

उनले युवाहरु विदेशिएको सम्बन्धमा विशेष एजेण्डा बनाएर संसदमा छलफल गर्नुपर्ने बताए।

उनले भने, ‘नेपालमा विशुद्ध पढ्ने ठाउँ नभएर, सबै बेरोजगार भएर काम नभएका मान्छे मात्रै गएका छन् भन्ने हुँदै होइन। नेपालमा यस्तो खालको रोग लाग्यो कि बेरोजगारहरु पैसा भएकाले राम्रो शिक्षा लिन जानु बेग्लै कुरा हो, तर यहाँ त के भयो भने मन्त्रीका छोरा, सांसदका छोरा, साहु महाजनका छोरा, धनिमनिका छोरा सबैको एउटै मात्र उद्देश्य के छ भन्दाखेरी नेपालमा केही हुन्न। त्यसकारणले जाने गन्तव्य अमेरिका, युरोप, अष्ट्रेलिया। त्यो गर्न नसक्ने कमसेकम जापान। त्यसकारण यो सुनियोजित किसिमले मुलुक रित्याउने स्थिति भएको छ। यो एजेण्डामा संसदमा हामी सबैले छलफल गर्नुपर्छ।’

यसरी नै युवापुस्ता विदेशिए आगामी २० वर्षमा मुलुक रित्तिने केसीले बताए। उनले यस विषयमा संसदमा विस्तृत छलफल गर्दै निराकरणका लागि बेलैमा शतर्क हुनुपर्ने बताए।

‘के कारणले आज नयाँ पिढीँ रित्तिएर गइराखेको छ, यही रुपले जनता भाग्ने हो भने मुलुकमा रित्तै हुन्छ १०/२० वर्ष पछि त’ उनले भने, ‘त्यसकारणले यसमा संसदमा एजेण्डा बनाएरै हामी सबैले गम्भिर रुपले छलफल गरेर यसको निकास निकाल्नुपर्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .