रुसी सेनामा भर्ती गरिएका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न नेपालले रुसलाई आग्रह गरेको छ।
रुसी सेनाले युक्रेनसँगको युद्धमा मारिएका नेपालीको जानकारी दिएपछि परराष्ट्र मन्त्रालयले रुसलाई कूटनीतिक नोट पठाउँदै नेपाली नागरिकलाई सेनामा भर्ना नगर्न र भर्ती भइसकेकालाई पनि तत्काल नेपाल पठाउन अनुरोध गरेको हो।
परराष्ट्र मन्त्रालयले सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुसी सरकारलाई अनुरोध गरिएको छ।’
यस क्रममा सरकारले आफ्नो नीतिविपरीत रुसले नेपालीलाई सेनामा भर्ती गरिरहेको पनि उल्लेख गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार विदेशी सेनामा नेपाली नागरिक भर्ना सम्बन्धमा परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रबाहेक अन्य मुलुकमा अनुमति दिने कुनै नीति छैन।
परराष्ट्र मन्त्रालयले सोमबार मात्र रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका ६ नेपालीको विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक सूचीअनुसार गोरखाका सन्दीप थपलिया, पुतलीबजार–५, स्याङ्जाका पितम कार्की, मेला–६, दोलखाका राजकुमार रोका, इलाम–५, इलामका गंगाराज मोक्तान, वाणगंगा–१, कपिलवस्तुका रूपक कार्की र पोखरा, कास्कीका देवान राई रुस–युक्रेन युद्धका क्रममा मारिएका हुन्।
Shares
प्रतिक्रिया