ad ad

राजनीति


नगरपालिकाको बार्दलीमा उभिएर भाषण गरेका गगन थापाले भने– मबाट गल्ती भयो, क्षमा चाहन्छु

नगरपालिकाको बार्दलीमा उभिएर भाषण गरेका गगन थापाले भने– मबाट गल्ती भयो, क्षमा चाहन्छु

फाइल तस्बिर


नेपालखबर
पुस ४, २०८० बुधबार ८:२७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाल्पामा पार्टीको जिल्ला सम्मेलन गर्दा तानसेन नगरपालिकाको भवनको दुरुपयोग भएकोमा क्षमा मागेका छन्।

गएको मंसिर ३० गते कांग्रेसले प्रथम पाल्पा सम्मेलन गर्दा तानसेन नगरपालिकाको मूल बोर्डमा पार्टीका झण्डा र व्यानर टाँगेर कार्यक्रम गरिएको थियो। उक्त कार्यक्रमको प्रमुख अतिथि महामन्त्री थापा थिए। 

पाल्पा कांग्रेसले सम्मेलनको लागि तानसेन नगरपालिकाको भवनमा रहेको सभाहल मात्रै भाडामा लिएको थियो।

नगरपालिकाको भवनको तल्लो तलामा रहेको सभाहल भाडामा लिएको कांग्रेसले नगरपालिका भवनभरी नै पार्टीका झण्डा र व्यानर टाँगेर कार्यक्रम गरेपछि त्यसको चर्को आलोचना भएको थियो। 

कांग्रेसले नगरपालिकाको मूल बोर्डलाई कपडाले छोपेर पार्टीको झण्डा र व्यानर टांगेर कार्यक्रम गरेको थियो। तानसेन नगरपालिकाको प्रमुख (मेयर) नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ छन्। 

सम्मेलनको लागि तल्लो तलाको हलमा मूल ब्यानर टाँगेर कार्यक्रम गरिए पनि प्रमुख अतिथी थापाको सम्बोधनको लागि भने नगरपालिकाको कार्यालयको माथिल्लो तलाको बार्दली नै प्रयोग गरिएको थियो। 

नगरपालिकाको बार्दलीमा उभिएर थापाले देशमा सुशासन नभएको भाषण गरेका थिए। 

राजनीतिक पार्टीको जिल्ला सम्मेलनको लागि सिंगो कार्यालय भवन नै उपलब्ध गराएको भन्दै मेयर श्रेष्ठको पनि चर्को आलोचना भएको छ।  

आफू र मेयरको आचोचना भएपछि महामन्त्री थापाले पाल्पा जिल्ला सम्मेलन गर्दा गल्ती भएको स्वीकार गरेका हुन्। 

उनले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘पाल्पा जिल्ला सम्मेलनका क्रममा भएको लापरवाही प्रति क्षमा चाहान्छु।’ 

सम्मेलनको लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु गरिए पनि पछि हल बाहिर रहेका साथीहरूले मेरो कुरा सुन्न पाउनु पर्‍यो भनेर माग गरेपछि बार्दली माथि गएर भाषण गरेको स्पष्टीकरण उनले दिएका छन्। 

‘सम्मेलनको लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु भएको थियो। तर हल बाहिर रहनुभएका साथीहरूले पनि मेरो कुरा सुन्न पाउनु पर्‍यो भनेर माग गरेपछि, मन्तव्यको लागि आयोजकले भवनको माथिल्लो तलाको बार्दलीमा लैजानुभयो,’ उनले आत्मालोचनासहित सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसका लागि नगरपालिकाको व्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भिर लापरवाही हो। यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो गल्ती हो। त्यसप्रति म माफी चाहान्छु। पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ। आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौं।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .