ad ad

राजनीति


मन्त्रीका पीएसओ र डीएसपी निलम्बनमा, ‘हेडक्वार्टर’ तानिए एसएसपी

सीडीओलाई गृहमा तानियो
मन्त्रीका पीएसओ र डीएसपी निलम्बनमा, ‘हेडक्वार्टर’ तानिए एसएसपी

नेपालखबर
पुस १४, २०८० शनिबार १४:२९, काठमाडौँ

बालकुमारीमा दुई जनाको ज्यान जानेगरी घटना भएपछि सरकारले ललितपुरमा कार्यरत अधिकारीको जिम्मेवारी व्यापक हेरफेर गरेको छ।

शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहितको छलफलले भीड नियन्त्रण गर्न नसकेको भन्दै ललितपुरका सीडीओसहित प्रहरी अधिकारीको जिम्मेवारीमा हेरफेर गर्ने निर्णय भएको हो। 

यसबारे औपचारिक निर्णय लिनका लागि अहिले सिंहदरबारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दैछ। मन्त्रिपरिषद् बैठकअघि काठमाडौँमै आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निलम्बन गरिएकोबारे बताएका छन्। 

‘हामीले यो ईपीएस अफिसबाट केही कमजोरी भएको महशुस गरेर उहाँलाई त्यहाँबाट हटाइएको छ। अर्को हाम्रो मन्त्रीजीको पिएसओले परिस्थितिको राम्रो आकंलन नगरीकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भिर त्रुटी भएको महशुस गरेर उहाँलाई निलम्वन गर्ने निर्णय गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अनि, त्यसैगरी गोली चलाउन आदेश दिनेमा पनि त्रुटीपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानविनको रिर्पोट नआउँदासम्म निलम्बन गरिएको छ।’

गृहमन्त्रालयले शुक्रबार घटनाको सत्यतथ्य पत्ता लगाउन डीआईजी लालमणी आचार्यको संयोजकत्वमा तीन सदस्यीय छनबिन समिती गठन गरेको थियो।

कसको जिम्मेवारी के फेरियो?
जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितलाई गृहमन्त्रालय तान्ने निर्णय भएको छ। 

यस्तै, ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तान्ने तयारी छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अप्रेसन इन्चार्ज(डीएसपी) उमेश लम्साल र मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवारलाई निलम्बन गर्ने तयारी छ।

यसैगरी ईपीएस शाखाका प्रमुखलाई हटाउने तयारी छ।

‘ललितपुरमा शुक्रबारको घटनाले उत्पन्न परिस्थितिपछि जिम्मेवार अधिकारीको जिम्मेवारी हेरफेर हुँदैछ,’ स्रोतले नेपालखबरसँग भन्यो।

स्रोतका अनुसार जिम्मेवारी हेरफेर भएकाहरूलाई शनिबार साँझसम्म पत्र पुगिसक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .