ad ad

राजनीति


प्रचण्डलाई खुमलटार पठाउने हैसियत कांग्रेससँग छ : गगन थापा

प्रचण्डलाई खुमलटार पठाउने हैसियत कांग्रेससँग छ : गगन थापा

नेपालखबर
पुस १४, २०८० शनिबार १४:५१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्‍याउने चेतावनी दिएका छन्।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत काँग्रेसको रहेको जिकिर गरे। 

‘प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि काँग्रेसको छ,’ महामन्त्री थापाले भने।

उनले कांग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएको भन्दै काँग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने बताए। कांग्रेस नभए देश गृह युद्धमा फस्ने दाबी गर्दै उनले बालकुमारीमा बिहीवार भएको घटनाप्रति दुःख व्यक्त गरे।

‘अहिले नेपाली काँग्रेस पार्टी छैन भन्ने कल्पना गर्नुभयो भने नेपाल कुनै न कुनै गृहयुद्धमा पर्छपर्छ। कि धार्मिक, कि जातिय, कुनै न कुनै अतिवादमा पर्छ। कांग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन। अहिले फेरि हामीले जिम्मा पाएका छौँ। यो बेला हामीले काम गर्नुपर्छ,’ थापाको भनाइ छ।

महामन्त्री थापाले पार्टी सभापतिको गोजीबाट राष्ट्रिय सभा सदस्य छान्ने परिपाटी अन्त्य गर्नुपर्ने पनि बताए।

आफूले महासमितिको बैठकमा प्रस्ताव गर्ने र सो प्रस्तावमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूसँग आग्रह गरे। राष्ट्रिय सभा सदस्य मनोनयन गर्न लामो छलफल गरेपनि पार्टी सभापतिको गोजीबाट नै अन्तिममा नाम टुंगो लाग्ने परिपाटी अन्त्य गर्नुपर्ने थापाले बताए।

‘सभापतिजीले कोटको खल्तीमा पहिल्यै नाम राखिरहनुभएको छ। छलफल हुन्छ, हुन्छ सभापतिले कोटको खल्तीबाट ढ्याप्प नाम निकाल्नुहुन्छ। टाउको गन्ने हो। यति जना मान्छे छ, सभापतिज्युले भनेपछि धन्यवाद भने भइहाल्छ,’ उनले भने। 

यो परम्परा अहिलेमात्रै नभई स्व. सभापति सुशील कोइरालाको पालामा पनि भएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .