ad ad

राजनीति


लागु औषध मुद्दामा माओवादीका पूर्वकमान्डर जेल चलान, बाबुरामको आपत्ति

लागु औषध मुद्दामा माओवादीका पूर्वकमान्डर जेल चलान, बाबुरामको आपत्ति

नेपालखबर
माघ ११, २०८० बिहिबार १४:४, काठमाडौँ

नेकपा माओवादी केन्द्रले चलाएको १० वर्षे सशस्त्र संघर्षका एकजना पूर्वलडाकु कमान्डरलाई लागु औषधसम्बन्धी मुद्दामा पक्राउ गरी जेल चलान गरिएको छ।

यही माघ ७ गते जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा पक्राउ गरिएका पूर्वी रूकुमका जितमान पुन 'मार्सल'लाई अदालतको फैसलाअनुसार सजाय भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरिएको छ। 

उनलाई जिल्ला अदालत दाङले २०७२ सालमै लागु औषध चरेस ओसारपसारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको थियो। अदालतले मार्सललाई २ वर्ष ६ महिना कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। 

मार्सलसहित तीनजनाले अन्य युवकलाई भरिया बनाएर चरेस बोकाएको आरोप थियो।

उनीहरूले त्यसबेला ४ सय किलोभन्दा धेरै चरेस अवैध रूपमा ओसारपसार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

बाबुरामको आपत्ति
यस प्रकरणमा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति प्रकट गरेका छन्। 

नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मार्सललाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा उनले आपत्ति जनाएका हुन्।

‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमान्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्सल’लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ’, बाबुरामले भनेका छन्, ‘हामी यो घटनाको तीव्र भर्त्सना गर्दछौँ। यसबारे तुरुन्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमान्डर तथा वर्तमान प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौँ।’

यो प्रकरणको विरोधमा उत्रिएका अध्यक्ष भट्टराईले  पुनलाई 'जनयुद्धकालीन' मुद्दामा गिरफ्तार गरिएको जिकिरसहित रिहा गर्न माग गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .