उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यविरुद्धका कुनै पनि अपराधमा कसैलाई छुट दिन नसकिने बताएका छन्।
गृह मन्त्रालय र गण्डकी प्रदेश सरकारद्वारा आयोजित 'गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी'को शुक्रबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
‘कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न। कसैलाई पनि जालसाजी गरेर ठग्ने छुट दिन सकिन्न’, उनले भने, ‘अपराधको काममा, ठगीको काममा, जालसाजीमा, लुटमा संलग्न कसैले पनि उन्मुक्ति पाउन सक्दैनन्।’
गृहमन्त्री श्रेष्ठले शक्ति केन्द्रको कोही पक्राउ परेमा अनावश्यक दबाब दिने गरेको उनले बताए।
‘कोही राजनीतिक पृष्ठभूमिको पर्यो भने हाम्रो पार्टीको हो, गठबन्धनको हो, प्रतिपक्षको हो भनेर कराउन थाल्छन्। कर्मचारी पक्राउ परे भने कर्मचारी उफ्रिन्छन्’, उनले भने, ‘उद्योगीलाई पक्र्यो भने व्यापारीहरू उफ्रिन्छन्। हामीले कर तिरेका छौँ किन पक्रिएको भनेर वक्तव्यबाजी हुन्छ। तर हामीले निजीक्षेत्रलाई पनि सँगै लिएर जाने भनेकै छौँ। तर कसैलाई पनि राज्यलाई लुट्ने छुट छैन। कसैलाई पनि जालसाजी गर्ने ठग्ने छुट दिन सकिँदैन।’
उनले कुनै पनि अपराधमा संलग्नलाई पक्राउ गर्दा दबाब दिइरहे आफूहरू दिशा बदल्न सक्ने बताए। ‘यसप्रकारको हामीलाई दबाब भइरह्यो भने हामी हाम्रो दिशा फेर्न सक्छौँ’, उनले भने, ‘कर्मचारी र सुरक्षानिकायले आफ्नो अडानमा दृढतापूर्वक उभिनुपर्छ।’
Shares
प्रतिक्रिया