प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताएका छन्।
२९ औँ जनयुद्ध दिवसका अवसरमा आज दाङ र बर्दियाबाट माओवादी प्रवेश गर्न बालुवाटा पुगेका राजनीतिक/सामाजिक क्षेत्रका अगुवालाई स्वागत गर्दै प्रचण्डले परिवर्तनकारीको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताए।
‘अहिले मुलुकमा परिवर्तनको नेतृत्व गर्ने र यसलाई उल्ट्याउन खोज्ने दुई धार देखिएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजावाद निर्माणको धारको नेतृत्वमा हामीले गरिरहेका छौँ।’
परिवर्तनलाई उल्ट्याउन खोज्नेहरु पनि झिनो स्वरमा अघि बढ्न खोजिरहेका उल्लेख गर्दै उनले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धि जोगाउन सबै परिवर्तनकारी एक ठाउँमा आउने बेला भएको बताए।
‘जनयुद्धबाट स्थापित उपलब्धिलाई संरक्षण गर्ने दायित्व माओवादी नेता, कार्यकर्ताकै भएकाले यसमा सबै गम्भीर भएर ध्रवीकरणमा सामेल हुनुपर्छ,’ प्रचण्डले भने।
ऐतिहासिक दिनमा पार्टीमा समाहित हुनेहरुलाई धन्यवाद दिँदै अध्यक्ष प्रचण्डले राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानको सम्मान गर्दै पार्टीमा उचित स्थान दिइने प्रतिबद्धता पनि व्यक्त गरे।
त्यसक्रममा उनले पार्टी विधान र दस्तावेजहरूमा पर्यावरण संरक्षणको सवाल र यससम्बन्धी मोर्चालाई व्यवस्थित गरेर लैजाने बताए।
कार्यक्रममा पार्टी स्थायी समिति सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, नेता पूर्णा सुवेदी, निर्मल आचार्य, हेमराज शर्मा, तिलकराम शर्मा, धनबहादुर मास्की, सुरेश पन्तलगायत उपस्थित थिए। रासस
Shares
प्रतिक्रिया