आसन्न महासमिति बैठकमा पेस गर्न लेखिएको सांगठनिक प्रतिवेदन र समसामयिक राजनीतिक विषयमा राखिएका केही शब्द मिलाउन निर्देशन दिएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कुरिरहेका छन्।
सोमबार (भोलि) सुरु हुने महासमिति बैठकमा थापाले सांगठनिक प्रतिवेदन पेस गर्दै छन्। महासमितिमा पेस गर्न लेखिएको उक्त दस्तावेज आइतबार सकिएको केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि राखिएको थियो।
यस्तै, अर्का महामन्त्री शर्माले महासमितिमा पेस गर्न समसामयिक राजनीतिक प्रतिवेदन तयार पारेका छन्। यसमा पनि तीन दिनसम्म चलेको केन्द्रीय कार्यसमितिमा छलफल भएको छ।
दुवैजना महामन्त्रीले आइतबार बिहान सभापति देउवालाई भेटेर आफ्ना प्रतिवेदनबारे धारणा मागेका थिए।
तर, देउवाले प्रतिवेदनमा परेका केही शब्द सच्याएर ल्याउन निर्देशन दिए। यसअघि कार्यसमिति बैठकमा पनि दुवै प्रतिवेदनमा रहेका केही शब्द र सन्दर्भ सच्याउनुपर्ने देउवाले बताएका थिए।
देउवानिकट स्रोतका अनुसार, महामन्त्रीहरूको प्रतिवेदनमा परेका केही शब्द हटाउन भनिएको छ।
‘केही शब्द मिलाएर प्रतिवेदन फेरि ल्याउन सभापतिले निर्देशन दिनुभएको आज बिहानै हो,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘अझैसम्म आइपुगेको छैन। सायद महामन्त्रीद्वय छलफलमै हुनुहोला।’
दुवै महामन्त्रीले तयार पारेका दस्तावेजमा उल्लिखित केही शब्द र सन्दर्भ नमिलाई बैठकमा प्रस्तुत नगर्ने देउवाले भनिसकेका छन्।
महासमिति बैठक सोमबार दिउँसो १ बजेदेखि ललितपुरको गोदावरीस्थित सिटी हलमा हुँदै छ। बैठकको उद्घाटन देउवाले गर्नेछन्।
‘महामन्त्रीले आजै सभापतिलाई भेटेर प्रतिवेदन फाइनल नगरी हुँदैन, फेरि प्रेसमा लगेर छाप्न भ्याइँदैन,’ स्रोतले थप्यो।
थापाको सांगठनिक प्रतिवेदनमा अबका चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने कुरा राखेको भन्दै देउवाले त्यसलाई हटाउन भनेका छन्।
यस्तै, शर्माको प्रतिवेदनमा कोसी प्रदेशमा माघ ११ गते भएको राष्ट्रिय सभाको चुनावलगायत विषय राखेको भन्दै देउवा खुसी छैनन्।
‘प्रतिवेदनमै ती कुरा उल्लेख गरिराख्नु आवश्यक छैन भन्ने सभापतिको मत छ,’ स्रोतको भनाइ छ, ‘महामन्त्रीहरूले सच्याउने भन्नुभएको छ, उहाँहरूले मिलाएर ल्याउनुहोला। सभापतिले हेरेपछि दुवै प्रतिवेदन फाइनल गरेर प्रेस पठाइन्छ।’
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि महामन्त्रीद्वयले भाषागत विषय मिलाउन समय मागेको बताए। उनले दुवै प्रतिवेदन आजै फाइनल भएर छापिने बताए।
‘राजनीतिक हिसाबका केही विषयहरू, विधानसँग सम्बन्धित केही कुरा र गठबन्धनसँग सम्बन्धित विषयहरूमा सभापतिले नराख्न सुझाव दिनुभएको हो,’ विश्वकर्माले नेपालखबरसँग भने, ‘यो नीति महाधिवेशन भएको हुनाले मुख्य विषयमा मात्रै कुरा गरौँ। विधान, निर्वाचन प्रणाली र अहिलेको वर्तमान गठबन्धनतिर नलागौँ भनेर सभापतिजीले अप्रासंगिक विषय धेरै परेको छ नराख्न भन्नुभएको हो।’
उनका अनुसार, त्यसपछि महामन्त्रीद्वयले सभापति देउवासँग केही समय मागेका थिए। ‘त्यसपछि महामन्त्रीद्वयले भाषा मिलाउन समय माग्नुभएको थियो, बेलुकासम्म मिलाइसकेर दुवै प्रतिवेदन छाप्न प्रेस जान्छन् होला।’
Shares
प्रतिक्रिया