नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले पूर्वसचिव भीमप्रसाद उपाध्यायको भ्रष्टाचारविरोधी अभिनय बल्ल उदाङ्गो भएको टिप्पणी गरेका छन्।
मेलम्ची खानेपानी विकास समितिको तत्कालीन बोर्ड अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि एमाले नेता थापाले कटाक्ष गरेका हुन्।
खानेपानी मन्त्रालयको सचिव हुँदा उपाध्याय मेलम्ची खानेपानी विकास समितिको बोर्ड अध्यक्ष थिए। त्यसबेला उनले ४ करोड ११ लाख ३४ हजार २ सय ७९ रुपैयाँ ९२ पैसा बिगो दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा भनिएको छ, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ (१) र ३ (१) (झ) बमोजिम कैद र जरिवाना गरी दफा १७ बमोजिम बिगो असुल हुन एवं निज भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष तथा नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव पदमा रही उक्त कसुरमा संलग्न रहेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत माग दाबी लिइएको छ।’
भीम उपाध्याय तिनै व्यक्ति हुन् जो सामाजिक सञ्जालमा सुशासन र भ्रष्टाचारविरुद्ध स्टाटस लेखेर चर्चित छन्। सुशासनसम्बन्धी कुनै कुरालाई हाइलाइट गर्नुपर्यो भने धेरैले फेसबुकमा उनै उपाध्यायलाई मेन्सन गरेर पोस्ट गर्ने गर्छन्।
आज उनै उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सांसद थापाले सामाजिक सञ्जालमा कटाक्ष गर्दै लेखेका छन्, ‘भीम उपाध्याय नामक भ्रष्टाचारको एकजना सरदारले गरेको गाली बेइज्जती भोग्नेहरू आज उनको नाममा ४ करोड २० लाखको राष्ट्रिय लुटखसोट थाहा भएर बल्ल सक्कली चेहरा खुलेको तथ्यसँगै चारछक परेका हुनुपर्छ। भ्रष्ट लुटेराको भ्रष्टाचारविरोधी अभिनय बल्ल उदाङ्गो भयो।’
Shares
प्रतिक्रिया