ad ad

राजनीति


भीम उपाध्यायलाई भ्रष्टाचार मुद्दा लाग्दा एमाले नेता किन खुसी?

भीम उपाध्यायलाई भ्रष्टाचार मुद्दा लाग्दा एमाले नेता किन खुसी?

फाइल फाेटाे : बायाँबाट क्रमशः विष्णु रिजाल, भीम उपाध्याय र सूर्य थापा


नेपालखबर
फागुन ७, २०८० सोमबार १२:४८, काठमाडौँ

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ४ पूर्वसचिवसहित १७ जनाविरुद्ध मुद्दा दर्ता गर्दा भीम उपाध्याय पनि परे। 

अख्तियारले विशेष अदालतमा मुद्दा १७ जनाविरुद्ध हालेको भए पनि तीमध्ये पूर्वसचिव उपाध्यायको अलि बढी चर्चा भइरहेको देखिन्छ।

किनभने भीम उपाध्याय सामाजिक सञ्जालमा चर्चित नाम हो।

उनी सामाजिक सञ्जालमा सुशासन र भ्रष्टाचारविरुद्ध स्टाटस लेखेर थाक्दैनन्। यति मात्र होइन, अन्य विषयमा पनि उनी अरूको उछितो काढ्न पछि पर्दैनन्।

यसबीच उनका कतिपय पोस्ट विवादित पनि भएका छन्। सोही कारण उनले माफीसमेत माग्नुपरेको छ। 

यसैले अहिले उनलाई भ्रष्टाचार मुद्दा लागेको समाचार आउँदा कतिपय निकै खुसी भइरहेका देखिन्छन्। जसमा नेकपा एमालेका नेता पनि पर्छन्।

आइतबार पूर्वसचिव उपाध्यायविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको खबर सार्वजनिक हुनासाथ प्रतिनिधि सभा सदस्यसमेत रहेका एमाले नेता सूर्य थापाले फेसबुकमा लेखे- ‘भीम उपाध्याय नामक भ्रष्टाचारको एकजना सरदारले गरेको गाली बेइज्जती भोग्नेहरू आज उनको नाममा ४ करोड २० लाखको राष्ट्रिय लुटखसोट थाहा भएर बल्ल सक्कली चेहरा खुलेको तथ्यसँगै चारछक परेका हुनुपर्छ। भ्रष्ट लुटेराको भ्रष्टाचारविरोधी अभिनय बल्ल उदाङ्गो भयो।’

त्यसो त एमाले नेता थापा पनि सामाजिक सञ्जालमा अरूको आलोचना गर्न रमाउने व्यक्तिमै पर्छन् भन्दा अत्युक्ति नहोला। त्यसैले उपाध्यायविरुद्ध उनको स्टाटसलाई धेरै जनाले सामान्य रूपमै लिएका होलान्। 

तर उनीपछि एमालेकै अर्का नेता विष्णु रिजालले पनि भीम उपाध्यायविरुद्ध लेखेको स्टाटसले उपाध्यायलाई मुद्दा लाग्दा एमाले नेता किन खुसी छन् भन्ने कुरा पनि प्रस्ट पारेको छ। 

एमालेका केन्द्रीय सदस्य रिजाल लेख्छन्, ‘कसैलाई नराम्रो हुँदा खुच्चिङ गर्नु राम्रो होइन। तर, पूर्वसचिव भीम उपाध्यायलाई भ्रष्टाचारको मुद्दा लाग्दा धेरै मानिसहरू खुसी भएको पाइन्छ। उनले गरेको भ्रामक सूचना (डिस्इन्फर्मेसन) को खेतीको सिकार अरू त अरू हाम्रो जिल्लाका इमानदार नेता सूर्यबहादुर शाही (हालै नेकपा एमाले दैलेखको अध्यक्ष निर्वाचित) समेत हुनुएको थियो।’

नेता रिजालका अनुसार शाही दैलेखस्थित चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयर पदमा चुनाव लडेका बेला उपाध्यायले मतदाता भेटिरहेको एउटा तस्बिरमा हातमा हजार रुपियाँको नोट राखिदिएर सामाजिक सञ्जालमा प्रचा गरेका थिए। 

रिजालको दाबीअनुसार त्यो तस्बिर फोटोसपबाट बनाइएको भ्रामक तस्बिर थियो। 

‘किन यस्तो गर्नुभयो भनेर कुरा गर्दा न यिनले माफी मागे, न तस्बिर हटाए’, रिजालले अगाडि भनेका छन्, ‘मैले त्यस्तै पाएँ, अनि हालेँ भन्ने गैरजिम्मेवार जवाफ दिए। सरकारको सचिव भइसकेर पनि नेपालमा ‘डिस्इन्फर्मेसन’का अभियन्ता र कथित सुशासनका पक्षपाती भीम उपाध्यायको वास्ताविक अनुहार अख्तियारले उदांगो पारिदिएको छ।’

त्यसो त पूर्वसचिव उपाध्यायले उक्त प्रकरणमा आफू निर्दाेष भएको दाबी गरिसकेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .