मधेस, गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख पठाइने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुराना प्रदेश प्रमुखलाई हटाउन सिफारिस गर्दै ती ठाउँमा नयाँ नाम पनि सिफारिस गरेको हो।
नयाँ प्रदेश प्रमुखका रूपमा सिफारिस भएका तीनैजना नेकपा एमालेनिकट हुन्।
मन्त्रिपरिषद्ले मधेस प्रदेश प्रमुखमा सुमित्रा भण्डारी (झापा), गण्डकी प्रमुखमा डिल्लीराज भट्ट (डोटी) र सुदूरपश्चिम प्रदेश प्रमुखमा नजिर मियाँ (अर्घाखाँची)को नाम राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकार दिइन्।
उनले तीनैजनालाई बर्खास्त नभई पदमुक्त गरिएको स्पष्टीकरण दिइन्। शर्माले संघ र प्रदेश सरकारबीच समन्वय हुनुपर्नेमा पछिल्लो समय त्यस्तो नभएको टिप्पणी गरिन्।
‘संघ र प्रदेश सरकारहरूबीचमा समन्वय जरुरी छ। तर अहिले कुनै प्रदेशमा विश्वासको मत फिर्ता लिने, कतै मन्त्रीहरूलाई बर्खास्त गर्ने गतिविधि भइरहेका छन्', उनले भनिन्, 'संघ र प्रदेशबीच समन्वय आवश्यक भएकाले राजनीतिक रूपमा पनि काम गर्न सजिलो होस् भनेर यो निर्णय लिइएको हो।’
मधेसमा सिफारिस भएकी सुमित्रा भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओलीकै गृहजिल्ला झापाकी हुन्। उनी एमालेनिकट अनेमसंघमा सक्रिय छिन्।
यसअघि उनी ओलीका पालामा डेनमार्कका लागि नेपाली राजदूतमा सिफारिस भएकी थिइन्। तर उनले नियुक्ति पाइनन्। ओली नेतृत्वको सरकार तत्कालै बिदा भएपछि उनी राजदूत हुनबाट वञ्चित भएकी थिइन्।
मिया र भट्ट नेकपा एमालेका केन्द्रीय सल्लाहकार छन्। मिया संविधानसभा सदस्य भइसकेका छन् भने भट्ट यसअघि राष्ट्रियसभाको निर्वाचनमा पनि उठेका थिए।
मधेस, गण्डकी र सुदूरपश्चिममा सम्भावित सत्ता गठबन्धनलाई तत्कालीन कांग्रेस कोटाका प्रदेश प्रमुखहरूबाट असहयोग हुने बुझेसँगै उनीहरूलाई सरकारले बिदा गरिदिएको हो।
Shares
प्रतिक्रिया