नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माधवकुमार नेपालसँगको करिब ३ वर्षदेखिको तिक्ततापूर्ण सम्बन्ध सुधार गर्न सक्रिय भएका छन्।
एमाले छाडेर एकीकृत समाजवादी पार्टी खोलेदेखि यी दुई नेताको सम्बन्ध बिग्रिएको थियो।
तर फागुन २१ गते एमालेले कांग्रेस नेतृत्वको गठबन्धन फुटाउन सफल भएसँगै राजनीतिक समीकरण फेरियो।
माओवादी केन्द्रले एमालेसँग सहकार्य गर्दा अलपत्र परेको एकीकृत समाजवादीलाई ओलीले नै वार्ता गरेर सरकारमा ल्याए।
समाजवादी अध्यक्ष नेपाललाई मनाउन ओली विगताका सबै तिक्तता भुल्दै कोटेश्वर पुगेका थिए। प्रचण्डलाई साथमा राखेर ओलीले कन्भिन्स गरेपछि सत्ता सहयात्रामा समाजवादी जोडिएको छ।
यस्तोमा केही दिनअघि राष्ट्रपति कार्यालय शीतल निवासमा एकै ठाउँ देखिएका यी दुई नेताबीच बुधबार संसदमा पनि खासखुस चल्यो।
प्रधानमन्त्रीले मागेको विश्वासको मतको प्रक्रिया अघि बढ्दै गर्दा ओली समाजवादी अध्यक्ष नेपाल बसेकै बेन्चमा आएर संवाद गरे।
दुई नेताबीच केही बेर खासखुस चल्यो, कुराकानी गरे। उनीहरूको कुराकानी चलिरहँदा नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि नजिकै थिइन्।
Shares
प्रतिक्रिया