नेकपा एमालेका सांसद किरणकुमार साहले स्थानीय तहहरू पछिल्लो समय अराजकता र भ्रष्टाचारको साधन बन्दै गएको बताएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा उनले संविधानमा भएको त्रुटीको फाइदा लिँदै स्थानीय तहहरू अराजक बन्दै गएको बताए।
‘संविधानमा रहेको एउटा मूलभुत त्रुटीका कारण देशमा आज अराजकता र उदण्डता बढेको छ’, उनले भने, ‘असीमित शक्तिसहितका ठूला ठूला आकारका स्थानीय तहहरू अहिले अन्याय, अत्याचार र भ्रष्टाचारका साधन बन्दै गएका छन्।’
उनले केही मेयरहरू देशको कानुन नै मान्दिनँ भन्दै हिँडेकोमा उनले आपत्ति जनाए। ‘कुनै मेयरले कानुन मान्दिन भन्छन्, कोही सहरमा गरिब हिँड्नै नहुने गरी निषेध लगाउँछन्’, उनले भने, ‘अहिले उनीहरू कानुन पनि मान्दिनँ भन्दै हिँडेका छन्। मेयरहरू आज जनता कुट्दै हिँडेका छन्।’
सांसद साहले देशका ७५३ पालिकाले आफूखुसी कानुन बनाउँदै हिँड्ने हो भने अराजकता निम्तिने बताएका छन्।
‘७५३ वटा पालिकाले आफैं कानुन बनाउँदै हिँड्ने हो भने हामी संघीय सांसदहरूको के औचित्य?’, उनले प्रश्न उठाए, ‘प्रदेश सरकारले प्रहरी राख्न नपाउने तर पालिकाहरूले नगर प्रहरी राख्दै जनता कुट्न पाउने? यो कहाँसम्मको अराजकता हो?’
Shares
प्रतिक्रिया