प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले इलाम क्षेत्र नम्बर २ को टिकट डम्बर खड्कालाई दिएको छ।
तीन दिनसम्मको विवादपछि बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई नै दोहोर्याउने निर्णय गरेको हो।
उता बूढानीलकण्ठ छलफलमा सहभागी खड्काले उम्मेदवारका रुपमा सिफारिस ५ जनाले आफूलाई समर्थन गरेको बताए।
‘उहाँहरूले मलाई समर्थन गर्नु भएको थियो। त्यसपछि म बूढानीलकण्ठबाट बाहिरिएँ’, उनले नेपालखबरसँग भने, ‘अहिले मलाई साथीहरूले टिकट पाएको भन्दै फोन गरेर बधाई दिइरहनु भएको छ। तर मैले पार्टीको आधिकारिक निर्णयको पत्र भने पाइसकेको छैन।’
खड्का २०७९ को निर्वाचनमा उनी नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङसँग पराजित भएका थिए।
टिकट फाइनल गर्नुअघि कांग्रेसले बूढानीलकण्ठमै इलाम २ का सबै आकांक्षीलाई बोलाएको थियो।
त्यहाँ इलाम २ बाट उम्मेदवारका रुपमा सिफारिस सबै उम्मेदवारले आफ्ना कुरा राखेका थिए।
तर नेता डा. शेखर कोइरालासहितको साथ पाएका भेषराज आचार्यले अन्तिमसम्म अडान छाडेका थिएनन्।
भेषराज र डम्बर दुईमध्ये एकको नाममा शीर्ष नेताहरूबीच विवाद थियो। तर सभापति देउवाले संसदीय बोर्डबाट निर्णय गराएर खड्कालाई नै दोहोर्याउने निर्णय गरेका हुन्।
Shares
प्रतिक्रिया