ad ad

राजनीति


प्रचण्डलाई कांग्रेसको प्रश्न– जंगलबाट फर्काएर राजनीतिमा ल्याएको बिर्सनुभयो?

प्रचण्डलाई कांग्रेसको प्रश्न– जंगलबाट फर्काएर राजनीतिमा ल्याएको बिर्सनुभयो?

नेपालखबर
जेठ ७, २०८१ सोमबार १६:९, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘कांग्रेसले चर्को मूल्य चुकाउनुपर्नेछ’ भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचडले विश्वासको मत लिँदैगर्दा कांग्रेसले गरेको अवरोधलाई लिएर प्रचण्डले चर्को मूल्य चुकाउनुपर्ने बताएका थिए। 

लगत्तै, संसद् भवन परिसरमै एक पत्रकार सम्मेलन आयोजना गर्दै लेखकले उनको अभिव्यक्तिको आलोचनामात्रै गरेनन्, जवाफ पनि दिए। 

‘सम्माननीय प्रधानमन्त्रीज्यूले मैले नेपाली कांग्रेसका लागि धेरै गरेको छु, आज नेपाली कांग्रेसले जे गर्यो, भोलिका दिनमा मूल्य चुकाउनुपर्ला भन्नुभयो। उहाँलाई आग्रह गर्न चाहन्छु, तपाईंहरूले हामीलाई संसदीय राजनीतिमा आइसकेपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौँ,’ उनले भने, ‘तपाईंलाई त जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो कि को हो? बिर्सनुभयो। हतियार उठाएर यो सत्ता हतियारकै बलमा परिवर्तन गर्छु भनेको तपाईंलाई शान्तिमा कसले ल्याएको बिर्सनुभयो।’

उनले यस्ता गैरजिम्मेवार तर्क नगर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे। 

‘तपाईं र तपाईंको पार्टीलाई शान्तिमा रुपान्तरण गरेर नेपालको राजनीतिक दलमा स्थापित गराउन कांग्रेसको भूमिका छैन? यस्तो गैरजिम्मेवार कुरा, भोलिको दिनमा मूल्य चुकाउनुपर्ला, के मूल्य चुकाउने?,’ उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .