प्रतिनिधि सभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ फिर्ता भएको छ।
मंगलबारको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले उक्त विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव प्रतिनिधि सभाको बहुमतबाट स्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिए।
सभामुख घिमिरेले उक्त प्रस्तावमाथि विरोधको सूचना भए पेस गर्न आग्रह गरेका थिए। सांसदबाट विरोधको कुनै सूचना नपरेपछि सभामुखले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए।
जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले संसद्मा पेस भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई फिर्ता लिने निर्णय गरेको थियो।
राजनीतिक दल विभाजनसम्बन्धी ऐनको व्यवस्था जगाउन सरकारले यो विधेयक गत माघ १८ गते संसदमा दर्ता गराएको थियो।
विधेयकमा केन्द्रीय कार्यसमिति र संसदीय दल दुवै निकायमा ४० प्रतिशत सदस्य भए मात्र दल विभाजन गर्न पाउने व्यवस्था प्रस्ताव थियो, जुन साविकको ऐनकै व्यवस्था हो।
२०७८ मा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारले केही समयका लागि अध्यादेश ल्याएर केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एक निकायमा २० प्रतिशत भए पार्टी फुटाउन पाउने व्यवस्था गरिदिएको थियो। संसदको अघिल्लो कार्यकालमा एमाले र जसपा त्यही अध्यादेशमा रहेर फुटेका थिए।
दुवै दल फुटाएर आफ्नो अनुकूल गणित तयार गरिसकेपछि देउवा सरकारले अध्यादेश फिर्ता गरेको थियो। अध्यादेश फिर्ता भए पनि साविकको कानुनको व्यवस्था जगाउने प्रक्रिया पूरा गरिएको थिएन।
प्रतिनिधि सभाको अर्को बैठक यही जेठ ११ गते बिहान ११ बजे बस्नेछ।
Shares
प्रतिक्रिया