ad ad

राजनीति


सामाजिक न्यायको कुरा गर्दा जलवायु न्यायलाई बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल

सामाजिक न्यायको कुरा गर्दा जलवायु न्यायलाई बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा सम्बोधन गर्दै राष्ट्रपति पौडेल


नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १६:५६, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने बताएका छन्। 

स्वीट्जरल्याण्डको जेनेभामा सुरु भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको  ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को बिहीबार उद्घाटन सत्रलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उनले विश्व समुदाय खास गरेर विगतदेखि हालसम्मका ठूला उत्सर्जनकर्ता यो जिम्मेवारीबाट विमुख हुन नहुने बताए।

‘हामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन’, राष्ट्रपति पौडेलले भने, ‘जलवायु परिवर्तनका नकारात्मक असरहरूको सन्दर्भमा जलवायु जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय तुरुन्तै सुनिश्चित गरिनुपर्छ।’

उनले कार्बन उत्सर्जनमा नगण्य योगदान दिए पनि नेपालले जलवायु परिवर्तनको सबैभन्दा खराब असरको सामना गरिरहेको जनाउँदै यसमा नेपालको कुनै दोष नभएको स्पष्ट पारे। 

‘पछिल्ला वर्षहरूमा संसारकै सर्वोच्च शिखर सगरमाथालगायत हाम्रा हिमालयहरू आफ्ना हिउँ गुमाउँदै काला पहाडमा परिणत हुन थालेका छन्। हिमनदीहरू अभूतपूर्व परिमाण र गतिमा पग्लिरहेका छन्’, उनले भने, ‘जलवायु परिवर्तनले स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्नुका साथै लाखौँ मानिसलाई गरिबी र असमानतातर्फ धकेलिरहेको छ। जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण परिवार, समुदायको विस्थापन र जीविकोपार्जनमा हुने क्षतिले समस्या थप जटिल बनाएको छ।’

त्यस्तै राष्ट्रपति पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न सबैलाई अपिल गरे। श्रम जगत्ले नै विश्वलाई समृद्घ बनाएको उल्लेख गर्दै उनले श्रमबाट आएको प्रतिफलको न्यायोचित हिस्सा कामदारको हातमा पुग्ने कुरा सुनिश्चित गर्नु सबैको साझा दायित्व र सामाजिक न्याय भएको उल्लेख गरे।

राष्ट्रपति पौडेलले आजको श्रमबजार तीव्रगतिमा परिवर्तन भइरहेको जनाउँदै यसले नवीन सीपको, नयाँ प्रविधिको र सिर्जनशील कार्यशैलीको माग गरेको बताए। ‘औद्योगिक उत्पादन हुन् वा सेवा क्षेत्र वा सूचना प्रविधिमा आधारित बैंकिङ सेवा, यन्त्र सिकाइ र कृत्रिम बौद्धिकता किन नहुन्, सबै क्षेत्रमा परिवर्तन आएको छ, कार्य प्रकृतिमा आएको परिवर्तनको सामना गर्न थप ग्रहणशीलता र नवीन कार्यशैली आवश्यक छ,’ उनले भने। रासस 

    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .