ad ad

राजनीति


प्रधानमन्त्रीको प्रतिबद्धताविपरीत पुरानै ढर्राको बजेट आयो : जनार्दन शर्मा

प्रधानमन्त्रीको प्रतिबद्धताविपरीत पुरानै ढर्राको बजेट आयो : जनार्दन शर्मा

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १५:७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले संघीयताको उपहास हुने गरी २५ हजारदेखि १ लाख रुपैयाँका योजनाहरू संघीय संसदमा प्रस्तुत नगर्न मन्त्रीहरूलाई आग्रह गरेका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो आग्रह गरेका हुन्। उनले बजेट विनियोजन गर्दा सरकारका मन्त्रीहरुले प्रदेश र स्थानीय  सरकार पनि छ भन्ने कुरा नर्बिसन आग्रह गरे।

उनले केन्द्रीय सरकारको मन्त्री भएपछि केन्द्रीकृत मनोभावनाले ग्रसित हुन नहुने पनि धारणा राखे। उनले सरकारले २५ हजार देखि १ लाखका योजनाहरू संसदमा प्रस्तुत गरेर संघीयताको उपहास गरिरहेको आरोप लगाए।

उनले साना आयोजनाहरु प्रदेश र स्थानीय तहलाई दिएर विकासलाई दिगो र परिणाममुखी बनाउन आवश्यक रहेको बताए।

उनले भने, ‘मन्त्रीहरूले प्रदेश र स्थानीय पनि सरकार छ भनेर नबिर्सिऔं। मन्त्री भएपछि केन्द्रीकृत मनोभावनाले ग्रसित नहोऔं। २५ हजार देखि १ लाखका योजनाहरू संसदमा प्रस्तुत गरेर संघीयताको उपहास नगरौं। यी सबै कुराहरू प्रदेश र स्थानीय तहलाई दिऔं। त्यो गर्दा दिगो र परिणाममुखी हुन्छ।’

पूर्वमन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्षमा आगामी वर्षको बजेट नयाँ ढङ्गले प्रस्तुत गर्ने भनेर गरेको प्रतिवद्धता र घोषणा कार्यान्वयन नभएको बताए। उनले प्रिबजेटमा नै बजेटलाई प्राथमिकता दिएर छलफल गर्ने र छलफलबाट आएका सुझावका आधारमा बजेट निर्माण गर्ने कुराले संसदहरुलाई उत्साहित बनाए पनि प्रतिवद्धता अनुसार बजेट निर्माण नभएको उल्लेख गरे।

उनले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्रीको घोषणा अनुसार अघि बढ्न नसकेको दाबी गरे। उनले सरकारले बजेट निर्माणको विषयमा गम्भिर समिक्षा गर्न जरुरी रहेको बताए।

बजेट निर्माण गर्दा परम्परालाई मात्रै निरन्तरता दिएको भन्दै यो बजेटले नयाँ प्रगति गर्न नसक्ने शर्माको दाबी छ। उनल सरकारले परम्परागत बजेट निर्माण प्रक्रिया बदल्ने भनेपछ बदल्नुपर्ने भए पनि बदल्न नसकेको उल्लेख गरे।

उनले भने,‘प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्षमा आगामी वर्षको बजेट नयाँ ढङ्गले बजेट प्रस्तुत गर्ने प्रतिवद्धता र घोषणा भएको थियो। प्रिबजेटमा नै बजेटलाई प्राथमिकता दिएर छलफल गर्ने र छलफलबाट आएका सुझावका आधारमा बजेट निर्माण गर्ने कुराले उत्साहका साथ लिएका थियौं। बजेटमा प्रधानमन्त्रीको घोषणा अनुसार अघि बढ्न सकेन।’

उनले सरकारले निर्माण गर्ने बजेट पुरानै अवस्थामा रहेको भन्दै सुधार गर्न आवश्यक रहेको बताए। उनले बजेट प्रस्तुतपछि संसदमा बजेटका विषयमा भएका छलफलको औचित्य र आवश्यकता नभएको बताए।

उनले यस्तो छलफलले कुनै परिणाम नदिने दाबी गरे। उनले वर्तमान सरकारले ल्याएको बजेटले परिणाम दिन नसक्ने भन्दै सरकारले बजेटलाई वितरणमुखी बनाएको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .