ad ad

राजनीति


संसदीय छानबिन विशेष समितिद्वारा सहकारीमन्त्रीसँग छलफल

संसदीय छानबिन विशेष समितिद्वारा सहकारीमन्त्रीसँग छलफल

नेपालखबर
असार ४, २०८१ मंगलबार १७:३८, काठमाडौँ

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीसँग छलफल गरेको छ।

सहकारी बचत दुरुपयोगसम्बन्धि छानबिन गर्ने कार्यादेशसहित सो विशेष समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकमा मन्त्री अधिकारी, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसहितका सम्वद्ध निकायसँग प्रारम्भिक छलफल गरेको हो।

सम्बन्धित मन्त्री र सम्वद्ध सबै निकायका पदाधिकारीसँग छलफल गरिएको र सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी छानबिनका लागि महत्वपूर्ण जानकारी प्राप्त भएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए।

बैठकमा समस्याग्रस्त २० वटा सहकारी संस्थाका पदाधिकारीहरूले सो सम्बन्धमा लिखित जानकारी गराएका थिए। सोही जानकारीको आधारमा अव आफ्नो कामलाई तिब्रता दिने विशेष समितिले जनाएको छ।

बैठकमा विशेष समितिले दुरुपयोग भएका बचतकर्ताहरूको ५ लाखसम्मको रकम फिर्ता गर्ने सरकारको बजेट सम्बन्धि कार्यक्रम लागू गर्ने बारेमा पनि मन्त्री अधिकारीसँग छलफल गरेको थियो।

बजेट वक्तव्यमार्फत ५ लाख रकमसम्मको बचतकर्ताको बचत फिर्ता गर्ने विषयमा पनि सहकारीमन्त्रीसँग छलफल गरिएको विशेष समितिका सभापति थापाले बताए।

उनले भने,‘आजको छलफलले हामीलाई हाम्रो काम थालनी गरेर अगाडि बढने सन्दर्भमा महत्वपूर्ण आधार र बाटो देखाएको छ। हामीले कानूनको छिद्र कहाँ रह्यो? यसमा टेकेर फाइदा उठाउँदै बचतकर्ताको बचत दुरुपयोग गर्ने, ठगी गर्ने, अपचलन गर्ने जुन समस्याहरू देखा परे। ती समस्याहरू समाधानका निम्ति नियामक निकायहरूले के, कसो गर्दै आएका छन, कानूनका समस्याहरू कहाँ देखापरेका छन्, नियामक निकायहरूको संरचनाको सन्र्दभमा के समस्याहरू रह्यो? यी बारेमा पनि उहाँको कुरा सुन्यौं।’

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि सहकारीको बचत रकम दुरुपयोगमा संलग्न रहेको आरोप लगाउँदै त्यसको छानबिनका लागि संसदीय समिति नै गठन गर्नुपर्ने नेपाली का‌ंग्रेसले माग गरेको एमालेका सांसद थापाको नेतृत्वमा सो विशेष समिति बनाइएको हो।

विशेष समितिले ३ महिना भित्रको समयावधि भित्र आफ्नो काम सक्नेगरी कार्यादेश बनाएको र सोही अनुसारको छलफलको कामलाई निरन्तरता दिने सभापति थापाले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .