ad ad

राजनीति


एकीकृत समाजवादीको अध्यक्षमा घनश्यामलाई झलनाथले साथ दिने सहमति

एकीकृत समाजवादीको अध्यक्षमा घनश्यामलाई झलनाथले साथ दिने सहमति

नेपालखबर
असार १२, २०८१ बुधबार १५:४६, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको अध्यक्ष पदमा घनश्याम भुसाललाई झलनाथ खनालले साथ दिने भएका छन्।

काठमाडौँको डल्लुस्थित खनालनिवासमा आज भएको छलफलपछि यो सहमति जुटेको हो। छलफलमा खनाल, भुसाल र युवा संघका पूर्वअध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य नरेशकुमार शाही सहभागी थिए। पार्टीमा पुस्तान्तरणको बहस चलाउँदै आएका भुसालका पक्षमा समर्थन जुटाउन यसअघि पनि विभिन्न चरणमा छलफल भएका थिए।

यसअघि खनाल आफै अध्यक्षमा उठ्ने बताइरहेका थिए। आजको छलफलपछि उनी अध्यक्षको दाबीबाट पछि हटेका हुन्। बैठक बिहान सवा ११ बजे सुरू भएको थियो। करिब साढे ३ घन्टाको छलफलपछि खनालले भुसाललाई भनेका थिए, ‘गो अहेड।’

भुसाल हाल पार्टीका महासचिव छन्। 

वर्तमान अध्यक्ष माधव नेपाल पनि दोहोरिन खोजिरहेका छन्। उनले अडान नछाडे अब नेपाल र भुसाल आमनेसामने हुनेछन्। तर, अब नेपाल पनि पुस्तान्तरणका लागि तयार बन्न सक्ने विश्वास भुसाल पक्षको छ। 

‘पार्टीलाई कसरी चलायमान बनाउने र समाजवादी आन्दोलन अघि बढाउने भन्ने नै मुख्य प्रश्न हो,’ छलफलमा सहभागी एक नेताले नेपालखबरलाई भने, ‘यसका लागि पुस्तान्तरण अहिलेको समयको माग हो। यसमा माधव कमरेडले पनि विमति जनाउनुहोला भन्ने लाग्दैन। सर्वसम्मत नेतृत्व चयनमा हाम्रो प्रयाउ रहनेछ।’’

यही असार १६ गतेदेखि एकीकृत समाजवादीको महाधिवेशन हुँदै छ। एमालेबाट विभाजन भएपछि एकीकृत समाजवादीले पहिलोपल्ट महाधिवेशन गर्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .