नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने गरी नेपाली कांग्रेससँग समझदारी भएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले लेखेका छन्, ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानुनसमेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी।’
साथै, उनले राष्ट्रिय सरकारमा अन्य सहमत दलहरूलाई पनि समावेश गरिने बताएका छन्। यस प्रकृयामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने उनले भनेका छन्।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।
उनीहरूबीच अहिले भेटवार्ता भइरहेको छ।
सोमबार मध्यराति नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिपछि प्रचण्ड भेट्न ओली बालुवाटार पुगेका हुन्।
यसअघि आइतबार र सोमबार प्रधानमन्त्री प्रचण्ड र ओलीबीच लगातार छलफल चलिरहेको थियो। छलफलकैबीचमा एमालेले कांग्रेससँग गरेको सहकार्यले माओवादी केन्द्र के गर्ने भन्ने अन्योलमा छ।
सोमबार मध्यराती (सवा १२ बजे) काङ्ग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएको थियो।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गएका छन्।
एमालेकै समर्थनमा प्रचण्ड कायम छन्।
Shares
प्रतिक्रिया