नेकपा एमालेसँग सहकार्य गरेर सरकार बनाउने सहमति सरकारमा जानुपर्छ भन्ने मान्यताभन्दा माथि बसेर निर्णय भएको नेपाली कांग्रेसले जनाएको छ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकठमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन्।
‘सरकारमा जसोतसो जानुपर्छ भन्ने मान्यताभन्दा निकै माथि बसेर भएको निर्णय हो,’ उनले भने, ‘खाली सत्तामा जानका लागि मात्रै यो समझदारी गरेका होइनौँ। महत्त्वपूर्ण मुद्दालाई आम जनताको चासोको विषयलाई केन्द्रमा राखेर एमालेसँग समझदारी भएको छ।’
साथै, यो राष्ट्रिय सरकार बनाउने प्रयास भएको भन्दै अन्य दललाई पनि कुराकानी गरेर ल्याउने तयारी भइरहेको बताए। ‘छलफल हुन्छ, विस्तारै सबै दलसँग कुराकानी गर्छौं,’ उनले भने।
उनले अघि थपे, ‘दुई तिहाई पुर्याउने मात्रै कुरा छैन, समग्रमा राष्ट्रिय सहमतिको सरकार बनाउनेतिर नै केन्द्रित हुन्छौँ।’
दुई दल एक ठाउँमा नआएसम्म अस्थिरतामा देश गुज्रिएको उनले बताए। ‘लोकतन्त्र नै अप्ठेरोमा परेको अवस्थामा यस्तो निर्णय भएको छ,’ उनले भने।
Shares
प्रतिक्रिया